काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तको तुलनामा २०८२ मङ्सिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ मङ्सिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु १४४.३७ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु १३७.०० रहेको थियो ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०८१ मङ्सिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४.८९ रहेको कच्चा पेट्रोलियम को मूल्य २०८२ मङ्सिर मसान्तमा १७.८ प्रतिशतले कमी आई अमेरिकी डलर ६१.५५ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ मङ्सिर मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २६५९.०५ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ६२.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४३१५.८५ पुगेको छ ।


