CLI

सुनचाँदीको मूल्यमा ऐतिहासिक छलाङ, सुरक्षित लगानीको खोजीले भाउ आकाशिँदै

काठमाडौं । अमेरिकी डलर कमजोर बन्दै जाँदा र विश्वभर जारी भू–राजनीतिक अनिश्चितताका कारण सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । जनवरी २८ मा सुनको मूल्य पहिलो पटक प्रति औँस ५ हजार २५० अमेरिकी डलर नाघेको छ । यसअघि मंगलबार सुनको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढिसकेको थियो ।

यता, बुधबार भने सुनको भाउ यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ४९ मिनेटमा) साढे १.६७ प्रतिशतले बढेर प्रतिऔंस ५२ सय ६७ डलरमा कारोबार हुँदैछ । रोयटर्सका सन् २०२६ को सुरुदेखि अहिलेसम्म आइपुग्दा सुन २० प्रतिशतले बढेको हो ।

विशेषज्ञहरुका अनुसार सुनको मूल्य बढ्नुको प्रमुख कारण अमेरिकी डलरको कमजोरी हो । हाल डलर करिब ४ वर्षयताकै न्यूनतम स्तरमा पुगेको छ । ओएन्डाका वरिष्ठ बजार विश्लेषक केल्भिन वङ भन्छन्, ‘डलर कमजोर हुँदा लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका हुन् ।’

साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डलरको मूल्यबारे दिएको टिप्पणीले पनि बजारमा प्रभाव पारेको छ । उनले डलरको मूल्य “उत्कृष्ट” रहेको बताएपछि लगानीकर्ताहरुबीच डलरप्रति विश्वास घटेको देखिएको छ, जसले थप डलर बिक्री र सुनको माग बढाएको छ ।

यसैबीच, अमेरिकाको उपभोक्ता विश्वास सूचकांक जनवरीमा साढे ११ वर्षयताकै न्यूनतम स्तरमा झरेको छ । कमजोर रोजगारी अवस्था र बढ्दो महँगीले उपभोक्तामा चिन्ता बढाएको छ । ट्रम्पले चाँडै नै फेडरल रिजर्भका नयाँ प्रमुख नियुक्त गर्ने र नयाँ नेतृत्व आएपछि ब्याजदर घट्ने अनुमान पनि गरेका छन् । यद्दपि, फेडले हालको जनवरी बैठकमा ब्याजदर स्थिर राख्ने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ, डोएचे बैंकले निरन्तर लगानी माग र केन्द्रीय बैंकहरुले गैर डलर सम्पत्तिमा ध्यान दिन थालेका कारण २०२६ सम्म सुनको मूल्य ६ हजार डलर प्रति औँस पुग्न सक्ने प्रक्षेपण गरेको छ । सुनसँगै चाँदीको मूल्य पनि तीव्र रुपमा बढेको छ । चाँदी बढेर ११५ डलर प्रति औँस पुगेको छ, जुन यस वर्ष मात्रै करिब ६० प्रतिशतले वृद्धि भएको हो ।

विश्व बजारमा सुनचाँदीको भाउ बढेसँगै यसको प्रभाव नेपालमा पनि परेको छ । नेपाली बजारमा पनि सुन र चाँदीको मूल्य उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्ला ५ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो । बुधबार सुन प्रतितोला ९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ ।  बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Leave Your Comment

Related News