CLI

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० बराबरको आम्दानी भएको छ ।

यस वर्ष अलैँची प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उनको भनाइ छ ।

गत वर्ष शून्य दशमवल चार प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर शून्य दशमलव ३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले उल्लेख गरे । आव २०८१र८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट रु २२ करोड आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजार ४०० सम्ममा अलैँची बिक्री भएको थियो ।

यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका परियोजनाका कृषि अधिकृत मिजारले बताए । आव २०८०र८१ मा जिल्लाका किसानले २५१ मेट्रिकटन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए ।

मिजारका अनुसार उक्त वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार २०० का दरले अलैँची बिक्री गरेका थिए । आव २०७९र८० मा ३८० मेट्रिकटन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु ५५० देखि रु७०० सम्म बिक्री भएको थियो ।

आव २०७८\७९ मा ३३५ मेट्रिकटन अलैँची बिक्री गरी रु १५ करोड, आव २०७७र७८ मा तीन हजार ५०० क्विन्टलबाट रु १८ करोड २० लाख, आव २०७६र७७ मा दुई हजार क्विन्टल अलैँची बिक्रीबाट रु १२ करोड आम्दानी भएको परियोजनाले जनाएको छ ।

जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो ।

यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए । उनले भने, “यस वर्ष अलैँची किसानले राम्रो आम्दानी प्राप्त गर्न सफल हुँदा किसान यस खेतीमा उत्साहित र खुसी भएका छन् ।”

जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ देखि अलैँचीखेती विस्तार हुँदै आएको हो ।

अलैँचीखेतीले जिल्लाका किसानको जीवनसमेत परिवर्तन गरेको छ । विदेशिएका युवासमेत फर्किएर अलैँचीखेती विस्तार गरेका छन् । सोमध्ये अजय तामाङ, सोमबहादुर तामाङ, बलराम लामालगायत विदेशबाट फर्किएर एक दशक अघिदेखि अलैँचीखेती गरिरहेका छन् । उनीहरूको अहिले वार्षिक रु पाँच लाखदेखि रु १० लाखभन्दा बढी आम्दानी हुने सोमबहादुरले जानकारी दिए ।

अलैँचीखेतीले स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनशैली परिवर्तन भएको छ । सोही कारणले जिल्लाका किसान पछिल्लो समय अलैँचीखेती विस्तार गर्नतर्फ आकर्षित हुँदै गएका परियोजना कार्यालयले जनाएको छ । जिल्लामा करिब तीन हजार किसान अलैँचीखेतीमा आबद्ध छन् ।

Leave Your Comment

Related News