CLI

घट्यो एनआईसी एशिया बैंकको नाफा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.०७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.०७ प्रतिशत र सञ्चालन मुनाफा ४२.१६ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ४३ करोड पुगेको छ । जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २८ पैसा घटेर १ रुपैयाँ ७६ पैसामा झरेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ । बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave Your Comment

Related News