काठमाडौं । यस साता नेप्से परिसूचक झिनो अंक घटेको छ । गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ०.०२ प्रतिशत अर्थात ०.५६ अंक घटेर २७१४.०५ विन्दुमा बन्द भएको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १४ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४७.१४ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५१.७७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३८.८० प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९ करोड रुपैयाँ घटेर ४५ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत बढेको छ। गत साता ३४९५.४४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०२.५० अंक बढेर ३५९७.९४ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १४२.२६ अंक बढेको छ। गत साता ७३८०.१० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.९३ प्रतिशत बढेर ७५२२.३६ विन्दुमा पुगेको छ ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत घटेको छ। गत साता २४१७.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.२४ अंक घटेर २३७५.६८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १४८.८९ घटेको छ ।


