काठमाडौं । अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे गोरखा जिल्लामा स्थलगत अनुगमन गरेका छन् । मंगलबार गोरखा पुगेका उनले जिल्ला प्रशासन कार्यालय तथा निर्वाचनसम्बन्धी निकायसँग छलफल गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षाको अवस्था, मतदान केन्द्रहरूको संवेदनशीलता र हालसम्मको तयारीबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गोरखामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको जानकारी दिए ।
उनका अनुसार जिल्लाका दुई मतदान केन्द्रमा मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको छ भने ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको छ ।
अनुगमनकै क्रममा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी निर्वाचन व्यवस्थापनको तयारीबारे जानकारी लिएका थिए । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मोहन वेल्वासे र जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले हालसम्मको तयारी र अवस्था बारे अर्थमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
स्थलगत अनुगमनपछि अर्थमन्त्री खनालले गोरखामा निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताउँदै स्थानीय तहमा राजनीतिक दलहरूबीच स्वच्छ, शान्तिपूर्ण र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।


