CLI

हाइड्रोपावरमा ‘लक इन’ अवधि सकिनु अघि हकप्रद घोषणा गर्ने प्रवृत्ति बढ्यो, बजारमा नयाँ ट्रेन्डको संकेत हो ?

काठमाडौं । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुमा लकइन अवधि समाप्त हुनुअघि नै बम्पर लाभांश र हकप्रद सेयर घोषणा गर्ने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको देखिएको छ । हालसालै लकइन अवधि सकिएका वा सकिन लागेका अधिकांश हाइड्रोपावर कम्पनीहरुले एकपछि अर्को गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय सार्वजनिक गरेका छन् ।

बुधबार मात्रै सुपरमाई हाइड्रोपावरले २१.११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने जानकारी दिएको छ । सुपरमाईको लकइन अवधि आगामी फागुन ४ गते समाप्त हुँदैछ । त्यसैले लकइन अवधि सकिन केही दिन मात्र बाँकी रहँदा लाभांश र हकप्रद सेयरको घोषणा हुनु संयोग मात्र हो कि योजनाबद्ध भन्ने प्रश्न उठ्न थालेको छ ।

यसअघि साहस उर्जा लिमिटेडले पनि लकइन अवधि समाप्त हुनुअघि नै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले गत वर्षको भदौ ३१ गते ८.४२ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो, जबकि कम्पनीको लकइन अवधि गत वर्षको असोज १६ गते समाप्त हुँदैथियो ।

त्यसैगरी, बुधबार (माघ २१ गते) लकइन खुलेको सुपर मादी हाइड्रोपावरले गएको पुस ४ गते सम्पन्न साधारण सभाबाट २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । साथै, हालसालै लकइन खुला भएका कालिन्चोक दर्शन, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरले पनि साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेका छन् ।

यी तथ्यहरुले लकइन अवधि समाप्त हुनु र हकप्रद सेयर घोषणा गर्नु संयोग मात्र नभई एक प्रकारको ट्रेन्डकै रुपमा विकास हुँदै गएको संकेत गर्छ। लगानीकर्ता तथा बजार विश्लेषक केशव कोइराला सबै हाइड्रोपावर कम्पनीहरुले लक इन खोल्नु अघि घोषणा गर्ने हकप्रद सेयर पूर्ण रुपमा योजनाबद्ध हुने गरेको बताउँछन् ।

उनले भने, ‘लकइन खुलिसकेपछि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर सजिलै बिक्री गर्न सकून् भन्ने उद्देश्यले हकप्रद सेयर ल्याइन्छ ।’
उनले हकप्रद सेयर घोषणापछि सेयर मूल्य बढ्ने अपेक्षामा खुद्रा लगानीकर्ता आकर्षित हुने र सोही अवसरमा संस्थापक सेयरधनीहरु बजारबाट बाहिरिने गरेको आरोप लगाए।

कोइरालाले हकप्रद सेयरको प्रक्रियामा नियामक निकायको भूमिकामा पनि प्रश्न उठ्न योग्य रहेको बताए । उनका अनुसार हकप्रद सेयरसम्बन्धी समाचारले बजारमा उत्साह पैदा गर्छ, तर अन्ततः जोखिम भने सर्वसाधारण लगानीकर्ताले नै व्यहोर्नुपर्ने अवस्था देखिन्छ ।

यसरी लकइन अवधि सकिनुअघि नै बम्पर लाभांश र हकप्रद सेयर घोषणा गर्ने क्रम बढ्दै जानु सेयर बजारका लागि चिन्ताको विषय बन्न सक्ने विश्लेषकहरुको भनाइ छ । त्यसैले यस्ता कम्पनीमा लगानी गर्नु अघि वित्तीय अवस्था, सेयर संरचना र संस्थापकको उद्देश्य गहिरो रुपमा अध्ययन गर्न आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।

Leave Your Comment

Related News