CLI

२५ लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, खुद ब्याज आम्दानी र नाफासँगै एनपीएल पनि बढ्यो, कुन कति ?

काठमाडौं । सञ्चालनमा रहेका २५ वटा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीहरुले ६ महिनामा २ अर्ब ८४ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको भन्दा ५६.२६ प्रतिशत धेरै हो । गत वर्ष २५ वटा संस्थाले १ अब ८१ करोड नाफा कमाएका थिए । ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।

यता, २५ वटा संस्थाहरुले ६ महिनामा ९ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो आम्दानी गत वर्षको भन्दा १५.१८ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीहरुले ८ अर्ब २८ करोड आम्दानी गरेका थिए । रिपोर्ट सार्वजनिक गर्ने अधिकांस संस्थाहरुको एनपीएल भने बढेको छ । खराब कर्जा बढेसँगै एनपीएल पनि बढेको हो ।

विज्ञहरुका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, व्यवसायिक कर्जा प्रवाह कमजोर हुनु, कर्जा असुली प्रभावित हुनु तथा ऋणीहरुको नगद प्रवाह कमजोर हुनु एनपीएल बढ्नुका प्रमुख कारण हुन् ।

चुक्ता पुँजी र जगेडा कोष 

रिपोर्ट सार्वजनिक गर्ने २५ वटा लघुवित्तमध्ये सबैभन्दा धेरै साना किसान लघुवित्तको चुक्ता पुँजी रहेको छ । यसको ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको पुँजी छ । छिमेकको ३ अर्ब ६१ करोड ७२ लाख, डिप्रोक्सको १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको पुँजी छ ।

यता, साना किसानको जगेडा कोषमा ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ जम्मा रहेको छ । छिमेकको जगेडामा ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी

छिमेक लघुवित्तले ६ महिनामा १ अर्ब ४५ करोड ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ७.४५ प्रतिशत भन्दा धेरै हो । गत वर्षको पुससम्म यस संस्थाले १ अर्ब ३५ करोड ब्याज आम्दानी गरेको छ । दोस्रोमा, डिप्रोक्सले १ अर्ब ६ करोड ब्याज आम्दानी गरेको छ ।

नाफा

छिमेक लघुवित्तले ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पुसको तुलनामा १२.५५ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । डिप्रोक्सले ४४ करोड २९ लाख, साना किसानले ३८ करोड ९ लाख नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी र नेटवर्थ

अभियान लघवित्तको प्रतिसेयर आम्दानी ६१.८९ रुपैयाँ छ । सपोर्टको ५१.८७ रुपैयाँ, डिप्रोक्सको ४७.४१ रुपैयाँ र गुराँस लघुवित्तको ४०.२२ रुपैयाँ इपीएस छ । यता, सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ हुनेमा आत्मनिर्भर लघुवित्त रहेको छ ।

एनपीएल

२५ लघुवित्तमध्ये छिमेक लघुवित्तको निष्क्रिय कर्जा दर (एनपीएल) सबैभन्दा कम २.४५ प्रतिशत छ । आरएसडीसीको २.८४ प्रतिशत, गुराँसको ३.१३ प्रतिशत र सपोर्ट लघुवित्तको ३.१७ प्रतिशत एनपीएल छ । यता, नेरुडे मिर्मिरेको २५.७५ प्रतिशत र मेरो माइक्रोफाइनान्सको एनपीएल १९.४५ प्रतिशत छ ।

Leave Your Comment

Related News