काठमाडौं । ब्याजदर घटेसँगै हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्चमा पनि गिरावट देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्ने अधिकांस हाइड्रोपावर कम्पनीहरुको उक्त खर्च घटेको छ । रिपोर्ट सार्वजनिक गर्ने १८ मध्ये १४ वटा जलविद्युत कम्पनीको वित्तीय खर्च गत वर्षको पुसको तुलनामा कम भएको छ ।
बैंक ब्याजदर कम भएको कारण उक्त खर्च पहिलाको भन्दा थोरै देखिएको हो । यसरी वित्तीय खर्च कम हुँदा हाइड्रोइावर कम्पनीहरुलाई भने निकै फाइदा भएको छ । हाइड्रोपावर परियोजनाको लागि कर्जाको ब्याजदर कम हुनु धेरै फाइदाजनक हुन्छ ।
किनकि, कम ब्याजदरका कारण कम्पनीको ब्याज भार कम हुन्छ । जब कुनै कम्पनीले बैंकहरुबाट धेरै ऋण लिन्छ, त्यसपछि ठूलो मात्रामा ब्याज तिर्नुपर्ने हुन्छ, जसले प्रत्यक्ष रुपमा नाफामा असर गर्छ ।
हाइड्रोपावर परियोजनाहरु स्थापनाको लामो समयसम्म आम्दानी गर्न सक्दैनन्, किनभने निर्माणपछि मात्र बिजुली उत्पादन सुरु हुन्छ । यदि ऋण धेरै भएमा कम्पनीले आम्दानी सुरु हुनु अगाडि नै वित्तीय दायित्व पूरा गर्न संघर्ष गर्नुपर्छ ।
त्यसो त, हाइड्रोपावरहरुलाई आयोजना निर्माणका लागि थुप्रै कर्जा आवश्यक पर्छ । नेपालका अधिकांश आयोजनाहरु कर्जाबाटै निर्माण गरिएका छन् । त्यसैले, कर्जाको ब्याज सस्तो भएपछि आयोजनाको लागत कम पर्न जान्छ । साथै, आम्दानीको ठूलो हिस्सा नाफामा जान्छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले बैंकहरुको ब्याजदर घटेको अवस्थामा हाइड्रोपावरहरुको वित्तीय खर्च कम हुने गरेको बताउँछन् । उनले वित्त खर्च कम हुनुको मुख्य कारण भनेको ब्याजदर रहेको बताए ।
अहिले रिपोर्ट सार्वजनिक गर्ने प्रायः सबै हाइड्रोपावरको वित्तीय खर्च घटेको छ । आगामी दिन रिपोर्ट सार्वजनिक गर्दै जाने अरु कम्पनी पनि उक्त खर्च घट्ने देखिन्छ । किनकि बैंक ब्याजदर सबैका लागि घटेको हो । र, सबैजस्तो कम्पनीहरुले कर्जा लिएका छन् ।
त्यसैले अरु हाइड्रोपावरको पनि वित्तीय खर्च पहिलाको भन्दा कम हुन सक्छ । यसले पनि बैंक ब्याजदर हाइड्रोपावर परियोजनाहरुको लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुराको पुष्टि गर्छ ।
यता, अहिलेसम्म सीमित कम्पनीहरुको प्रारम्भिक रिपोर्टहरु अनुसार हाइड्रोपावरहरुको नोक्सानी पनि गत वर्षको भन्दा कम भएको छ । ब्याज खर्च कम हुँदा नाफा पनि प्रभावित भएको हो । त्यसैगरी, केहीको विद्युत उत्पादन पनि बढेको छ ।



