CLI

विश्वव्यापी अस्थिरताबीच बिटक्वाइनमा गिरावट, ४ महिनामा ५८ हजार डलर घट्यो, प्रतिक्वाइन ४० हजारसम्म झर्न सक्ने अनुमान

काठमाडौं ।  विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र भू–राजनीतिक तनावबीच विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बिहीबार बिटक्वाइनको मूल्य झरेर करिब ६६ हजार ७०० सय अमेरिकी डलर (साढे ४ बजे) आसपास पुगेको छ । केही महिनाअघि १ लाख २४ हजार डलरभन्दा माथि पुगेको बिटक्वाइन हाल आफ्नो उच्च बविन्दुभन्दा झन्डै ५० प्रतिशत तल झरेको छ ।

सन् २०२५ को सुरुवातयता मात्र बिटक्वाइन २० देखि ३० प्रतिशतसम्म घटिसकेको देखाएको छ । पछिल्लो ४ महिनामा यता यो क्रिप्टोको बजार भाउ करिब ५८ हजार डलरले घटेको छ । बिटक्वाइनसँगै समग्र क्रिप्टोकरेन्सी बजार पनि दबाबमा परेको छ, जसका कारण पछिल्लो समय अरबौं डलर बराबरको बजार पुँजीकरण घटेको छ ।

विश्लेषकहरुका अनुसार हालको गिरावट एकमात्र कारणले नभई विभिन्न अन्तर्राष्ट्रिय र आर्थिक कारकहरुको संयुक्त प्रभावका कारण भएको जनाइएको छ । विश्वव्यापी भू–राजनीतिक तनाव, प्रमुख अर्थतन्त्रहरुबीचको कूटनीतिक टकराव, तथा प्रविधि क्षेत्रमा विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीव्र विकास र त्यसले सेयर बजारमा ल्याएको अस्थिरताले लगानीकर्तालाई जोखिमपूर्ण सम्पत्तिबाट टाढा बस्न प्रेरित गरेको छ ।

त्यसो त, इटीएफहरुबाट ठूलो परिमाणमा लगानी बाहिरिएको बताइएको छ । साथै, संस्थागत लगानी घटेसँगै बजारमा तरलता कमी आएको छ । जसका कारण सामान्य लगानीकर्तामा पनि प्यानिक सेल गर्ने प्रवृत्ति बढेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार क्रिप्टो क्षेत्रमा देखिने ‘उत्साह–आधारित’ (हाइप–ड्रिभन) कारोबार चक्र कमजोर बन्दै जाँदा मूल्यमा थप दबाब परेको हो ।

यसैबीच बिटक्वाइनलाई लामो समयदेखि ‘डिजिटल गोल्ड’ अर्थात् अस्थिर समयमा सुरक्षित आश्रय लगानीका रुपमा प्रस्तुत गरिँदै आएको थियो । तर हाल विश्व अनिश्चितताबीच सुनको मूल्य भने उकालो लागिरहँदा बिटक्वाइनको मूल्य ओरालो लाग्नुले उक्त अवधारणामाथि प्रश्न उठेको छ । यसले बिटक्वाइन साँच्चै सुरक्षित सम्पत्ति हो कि उच्च जोखिमयुक्त लगानी मात्र हो भन्ने बहसलाई पुनः तीव्र बनाएको गार्डियनले जनाएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो–मैत्री नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएपछि बिटक्वाइनमा उल्लेख्य वृद्धि देखिएको थियो । उनले राष्ट्रिय स्तरमा क्रिप्टो रणनीतिक भण्डार बनाउने घोषणा पनि गरेका थिए । तर विश्लेषकहरुका अनुसार नीतिगत समर्थन मात्र बजारलाई दीर्घकालीन स्थिरता दिन पर्याप्त नभएको देखिएको छ ।

ब्याजदरसम्बन्धी अनिश्चितता, नियामकीय स्पष्टतामा ढिलाइ तथा अमेरिकी फेड नेतृत्वमा आएको परिवर्तनले पनि लगानीकर्ताको मनोबल कमजोर पारेको छ । क्रिप्टो बजारमा यस्तो दीर्घकालीन गिरावटलाई ‘क्रिप्टो विन्टर’ भनिन्छ । सन् २०१८ र २०२२ मा पनि यस्तै ठूलो गिरावट देखिएको थियो, जसमा बिटक्वाइन ७० प्रतिशतभन्दा बढीले घटेको थियो ।

यद्दपि, विगतमा प्रत्येक ठूलो गिरावटपछि करिब एक वर्षदेखि डेढ वर्षभित्र बजार पुनः उकालो लागेको इतिहास छ । केही लगानी रणनीतिकारहरुले बिटक्वाइन अझै ४० हजार डलरसम्म झर्न सक्ने चेतावनी दिएका छन् भने अन्य विश्लेषकहरुले हालको गिरावटलाई चक्रीय सुधारको चरणका रुपमा व्याख्या गर्दै दीर्घकालीन सम्भावना अझै कायम रहेको दाबी गरेको याहु फाइनान्सले जनाएको छ ।

हालका लागि भने विश्वभरका लगानीकर्ताहरु क्रिप्टो बजारको उतार–चढावलाई नजिकबाट नियालिरहेका छन् । बिटक्वाइनले पुनः स्थिरता पाउँछ वा ‘क्रिप्टो विन्टर’ अझ लम्बिन्छ भन्ने प्रश्नले बजारमा चासो र अनिश्चितता दुवै बढाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्येमहरुका अनुसार विश्वव्यापी क्रिप्टोकरेन्सी बजारले पछिल्लो एक महिनामा ८०० डलर भन्दा धैरै मूल्य गुमाएको छ । यसले समग्र क्रिप्टो बजार पुँजीकरणमा ठूलो झट्का पुगेको छ ।

Leave Your Comment

Related News