CLI

आयात निर्यातको अग्रस्थानमा भटमास र भटमासको तेल, भटमासको आन्तरिक उत्पादन गरी करिब ७१ अर्ब व्यापार घाटा कम गर्न सकिएला

काठमाडौं । मुलुकको आयात निर्यातको व्यापारको पहिलो स्थानमा भटमास र भटमासको तेल रहेको छ । भन्सार विभागले गत साता सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै भटमासको आयात र सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ ।

कुल आयातमध्ये चालू आवको सात महिनामा सबैभन्दा बढी भटमास र पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार सात महिनामा ७० अर्ब ९९ करोड ५६ लाखको भटमास, ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाखको खाना पकाउने ग्यास आयात भएको छ । ३१ अर्ब नौ करोड १३ लाखको फलामजन्य सामग्री, २६ अर्ब ६८ करोड ७३ लाखको मोबाइल र २१ अर्ब २० करोड सात लाखको सुन आयात गरिएको छ ।

साथै, मोटरसाइकल, विद्युतीय गाडी, नट्स, भटमास लुब्रिकेन्ट, हवाई इन्धन र ल्यापटप र नोट बुकहरूको आयात उच्च रहेको छ । आयात गरिने मुख्य सामग्रीहरूमा पेट्रोलियम पदार्थ, सवारीसाधान, फलाम, कच्चा सूर्यमुखी, भटमासलगायतका कृषि सामग्री तथा भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्री समेतको उच्च रहेको छ ।

भटमास मात्र आन्तरिक उत्पादन गरेमा करिब ७१ अर्बको व्यापार घाटा घट्ने जानकारहरु बताउँछन् । सरकारले कृषिमा लगानी गर्न नसकेको परिणामास्वरुप कच्चा पदार्थ आयात गरी थोरै नाफा राखेर भटमास लागयतका सामग्री निकासी गर्नुपर्ने वाध्यता रहेको अर्थविद्हरु बताउछन् ।
कृषि क्षेत्रमा मात्र सरकारले लगानी गरे २५ देखि ३० प्रतिशत व्यापार घाटा कम हुने अर्थविद् केशव आचार्यले बताए । भटमास, धनियाँ, दाल, चामल लगायतका अधिकांश कृषि सामग्री आयातित छ , हाम्रो जस्तो पानी र जमिन पर्याप्त भएको मुलुकले कृषिजन्य उत्पादन निर्यात गर्नुपर्नेमा सरकारले व्यापारमा गलत नीति अंगीकार गर्दा समस्या भएको उनको भनाई छ ।

त्यस्तै विभागका अनुसार समिक्षा अवधिमा भटमासको तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टको निर्यातले मुलुकको निर्यात व्यापार बढाएको छ । चालू आवको सात महिनामा ६६ अर्ब ७८ करोड ८७ लाखको सोयाबिन तेल, आठ अर्ब ६१ करोड २० लाखको अलैंची, पाँच अर्ब ७८ करोड ४७ लाखको सूर्यमूखी तेल निर्यात भएको छ । साथै चार अर्ब एक करोड १२ लाखको जुटजन्य सामग्री, तीन अर्ब ६१ करोड ३९ लाखको गलैंचा र दुई अर्ब ७७ करोड ७८ लाखको र्यान निर्यात भएको छ । निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महत्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने कच्चापदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हुँदैन ।

Leave Your Comment

Related News