काठमाडौं । विश्वका ३३ राष्ट्रमा अझै पनि सेयर कारोबार गर्नका लागि स्टक एक्सचेन्ज स्थापना भएको छैन । यी देशहरुमा स्टक एक्सचेन्ज नहुनुका कारणहरु फरक फरक छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार धेरै अफ्रिकी र केही एसियाली देशहरुमा राजनीतिक अस्थिरता, द्वन्द र कमजोर वित्तीय प्रणालीका कारण बजार विकास गर्न सकिएको छैन ।
सोही क्रममा अफगानिस्तान दशकीय द्वन्दका कारण र उत्तर कोरिया बन्द र सरकारी नियन्त्रणमा रहेको अर्थतन्त्रका कारण स्टक एक्सचेन्ज सञ्चालन गर्न असमर्थ रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
साना र जनसंख्या कम भएका देशहरुमा पनि स्टक एक्सचेन्ज सञ्चालनमा छैनन् । यस्ता देशहरुमा पर्याप्त लगानीकर्ताहरु र आर्थिक गतिविधि नभएका कारण औपचारिक बजार सञ्चालन लाभदायी हुँदैन । युरोपका साना देशहरु जस्तै आन्डोरा, लाइच्टेन्ष्टाइन, मोनाको, सान मारिनो, र भ्याटिकान सिटी, र प्रशान्त क्षेत्रका साना द्वीपीय देशहरु जस्तै किरिबाती, मार्शल टापु, माइक्रोनेशिया, पलाउ, सामोआ, सोलोमन टापुहरु, टोंगा, तुवालु र भानुअतुमा स्टक एक्सचेन्ज छैन।
एक्सचेन्जको अभावले यी देशहरुका व्यवसायका लागि पुँजी जुटाउन कठिनाइ उत्पन्न गर्छ । यद्यपि, बैंक ऋण, निजी लगानीकर्ताबाट पुँजी जुटाउने, वा डिजिटल वित्तीय प्लेटफर्म मार्फत लगानी प्राप्त गर्ने विकल्पहरु उपलब्ध छन् । डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय लगानीकर्तासँगको पहुँचले यी देशको आर्थिक विकासमा सहयोग पुर्याउन सक्छ ।
स्टक एक्सचेन्ज नभएका मुलुकहरुको सूची
अफगानिस्तान, अन्डोरा, बेलिज, ब्रुनाई, कोमोरोस, क्युबा, कंगो लोकतान्त्रिक गणराज्य, जिबुटी, इरिट्रिया, गाम्बिया, गिनी, किरीबाती, लाइबेरिया, लाइखटेनस्टाइन, मडागास्कर, मार्शल टापुहरु, मौरिटानिया, माइक्रोनेशिया संघीय राज्यहरु, मोनाको, नाउरु, उत्तर कोरिया, पलाउ, सामोआ, सान मारिनो, साओ टोमे एण्ड प्रिन्सिपे, सोलोमन टापुहरु, दक्षिण सुडान, टिमोर-लेस्ते, टोंगा, तुवालु, भानुआतु, भ्याटिकन सिटी, यमनमा स्टक एक्सचेन्ज छैन ।
यी मुलुकहरुमध्ये कतिपय मुलुकमा राजनीतिक नीति अर्थात् नेतृत्व समूहको अनिच्छा रहेको छ भने केहि मुलुकहरु आर्थिक रुपमा कमजोर हुँदा स्टक सञ्चालन हुन सकेका छैन । यसमध्ये अफ्रिका लगायतका मुलुकमा भने आन्तरिक द्धन्द्धका कारण सरकारी निकायहरु विस्तार गर्नबाट चुक्ने पुगेको विज्ञहरु बताउछन् ।


