काठमाडौं ।मुलुकको सार्वजनिक ऋण दायित्वमा करिब रु २ खर्बले वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को शुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा माघ मसान्तसम्ममा रु १ खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको हो । जुन कुल गार्हस्थ उत्पादनको ४६.८१ प्रतिशत हो । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ % प्रतिशत रहेको छ ।
सार्वजनिक ऋण परिचालनको वार्षिक लक्ष्य र प्राप्ति
चालु आर्थिक वर्षमा जम्मा रु ५ खर्ब ९५ अर्व सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्ममा रु २ खर्ब ५५ अर्ब ४८ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६०.१३ र १६.१८ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८५.२० र १४.८० प्रतिशत रहेको छ ।
सार्वजनिक ऋणको साँवा र व्याज भुक्तानीको बजेट र पर्याय खर्च
चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा रु ४ खर्ब ११ अर्व १ करोड बजेट विनियोजन भएकोमा माघ मसान्तसम्म रु २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९. ५५ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.३३ प्रतिशत रहेको छ ।



