CLI

रियल म्याड्रिड घरमै गेटाफेसँग पराजित

काठमाडौं ।  रियल म्याड्रिडले ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमाएको छ । गए राति भएको खेलमा पराजित भएसँगै उसको उपाधि यात्रामा समेत धक्का लागेको हो ।

आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा गेटाफेले रियललाई १–० को हार चखाएको हो । उसका लागि ३९ औं मिनेटमा मार्टिन सात्रियानोले गरेको गोल खेलको निर्णायक बन्यो । ला लिगमा रियलको यो लगातार दोस्रो हार हो । २६ खेलपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ ।

रियल यो खेलमा पनि किलियन एमबाप्पे बिना मैदान उत्रिएको थियो । उनी घुँडाको चोटका कारण मैदान बाहिर छन् । साथै जुड बेलिङ्घम पनि चोटका कारण खेल्न सकेनन् । रियलले खेलभरि आक्रमण गरे पनि गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट बचाउ गरे । भिनिसियस जुनियर ले राम्रो मौका पाए पनि गोल गर्न सकेनन् ।

इन्जुरी समयमा रियलका फ्रान्को मास्तान्तुओनोले रेफ्रीसँग विवाद गरेपछि रातो कार्ड पाए । गेटाफेका आद्रियन लिसो पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रियलले अब शुक्रबार सेल्टाभिगो सँग खेल्नेछ ।

Leave Your Comment

Related News