काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै सिट जित्दै पहिलो दल बनेको छ।
सो निर्वाचनमा पाँच पूर्व अर्थमन्त्रीहरूले पनि उम्मेदवारी दिएका थिए। हाल सम्पन्न निर्वाचनको परिणाम हेर्दा एक जनाले मात्र जित हासिल गर्न सकेका छन्।
जित हासिल गर्नेमा रोल्पा–१ बाट उम्मेदवारी दिएका वर्षमान पुन विजयी भएका हुन्। पुनले २७ हजार ४६० मत ल्याएर विजयी हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वली १२ हजार ८ मत ल्याएर दोस्रो भएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा १० हजार ८०४ मत ल्याएर तेस्रो भए।
नेकपा एमालेका उपाध्यक्ष तथा चार पटकसम्म अर्थमन्त्री बनिसकेका विष्णु पौडेल रुपन्देही–२ बाट भारी मतान्तरले पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले ४० हजारभन्दा बढी मतको अन्तरले हराउँदै विजयी भएका हुन्। खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र पाएका छन्।
नेपाली कांग्रेसका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट पराजित भएका छन्। रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनासँगको कडा प्रतिस्पर्धामा महतले हार बेहोर्नुपरेको हो। तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएका छन् भने पूर्व अर्थमन्त्री महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा ‘अपराजित’ मानिने पूर्व अर्थमन्त्री जनार्दन शर्मा यसपटक पराजित भएका छन्। रुकुम पश्चिम–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका उनी १४ हजार ३४६ मत ल्याएर तेस्रो भएका छन्। सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीका गोपाल शर्मा २९ हजार ६०९ मत ल्याएर विजयी भएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे।
यस्तै, सुनसरी–४ मा कांग्रेसकै अर्का पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रास्वपाका दीपककुमार साहसँग २६ हजार १८४ मतले पछि परे। साहले ४२ हजार ७७१ मत ल्याए कार्कीले १६ हजार ५८७ मत मात्र प्राप्त गरे।


