काठमाडौं । मध्यपूर्व युद्धका बीच कतार एयरवेजले आफनो उडान तालिका सार्वजनिक गरेको छ । एयरवेजले कतारको राजधानी दोहा काठमाडौंका साथै विभिन्न शहरबाट उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।
कतार एयरवेजले मार्च १३ देखि १७ सम्म १४३ भन्दा बढी उडान सञ्चालन गर्ने योजना सहितको तालिका सार्वजनिक गरेको हो।
विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने छ । यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका तय भएको छ ।
नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्नेछन् ।दोहा विश्वका प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले नेपाल आउने तथा बाहिरिने यात्रुका लागि यस उडानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्दैछ ।
कतार एयरवेजले उडान सञ्चालन गर्ने उद्देश्य युद्धका बीच फसेकाहरूलाई सुरक्षित घर फर्काउने र कतार फिर्ता ल्याउने रहेको जनाएको छ। कम्पनीले आफ्नो सामाजिक दायित्वअनुसार फसेकाहरूको उद्धारमा सहकार्य गर्दै अन्तर्राष्ट्रिय यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने योजना बनाएको बताएको छ। अमेरिका इजरायल र इरानबीचको युद्धले हवाई उडान प्रभावित हुन पुगेको हो ।



