काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ।
बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरिनेछ। यसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
६ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा, प्रत्येक ६ महिनामा गरिने व्यवस्था छ।
ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।


