CLI

पूर्वाधार विकास बैंकलाई ऋण खरिद-बिक्री गर्न समय सीमा थप, ठूलो परियोजनामा सहकार्य सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई अन्य बैंकहरूबाट पूर्वाधार परियोजनाका ऋण खरिद र टेकओभर गर्न पाउने समय सीमा बढाएको छ। केन्द्रीय बैंकले मंगलबार जारी एक संशोधित निर्देशन (एकीकृत निर्देशन, २०८२) मार्फत यो सुविधा थप गरेको हो।

नयाँ व्यवस्थाअनुसार पूर्वाधार विकास बैंकहरूले अन्य वाणिज्य बैंकबाट पूर्वाधार परियोजनाका ऋण खरिद गर्न सक्ने समय सीमा २०८५ असार मसान्तसम्म कायम गरिएको छ।यसअघि बैंकले आफ्नो कारोबार सुरु गरेको चार वर्षभित्र मात्र यस्तो कारोबार गर्न पाउने प्रावधान थियो।

अब राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै २०८५ असार मसान्तसम्म पूर्वाधार परियोजनाका ऋण खरिद तथा टेकओभर गर्न सकिने व्यवस्था सुनिश्चित गरेको छ। निर्देशन अनुसार पूर्वाधार विकास बैंकले आफ्नो अघिल्लो त्रैमासमा कायम कुल कर्जा सीमाको अधिकतम एक तिहाइ (१/३) सम्म मात्रै ऋण खरिद वा टेकओभर गर्न पाउनेछन्। यो सीमा २०८५ असार मसान्तसम्म लागू हुनेछ।

पूर्वाधार विकास बैंकहरूले आपसमा मात्र ऋण खरिद–बिक्री गर्न पाउने भए पनि, राष्ट्र बैंकले तोकेको पूँजी पर्याप्त भए अन्य वाणिज्य बैंकहरूबाट पनि ऋण लिन सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको यो निर्णयले विशेष गरी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) जस्ता संस्थाहरूलाई ठूला पूर्वाधार परियोजनामा अन्य बैंकसँग सहकार्य गर्न र ऋण व्यवस्थापनमा लचकता मिल्नेछ। यसले देशमा पूर्वाधार क्षेत्रमा लगानी प्रवाह बढाउने अपेक्षा गरिएको छ।

 

 

Leave Your Comment

Related News