CLI

पुसमा कर्जा प्रवाहमा वृद्धि, १ खर्ब ५ अर्ब कर्जा प्रवाह

काठमाडौं ।  चालु आर्थिक वर्षका सात महिना (साउन–माघ) मध्ये पुसमा कर्जा प्रवाह बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्मका ७ महिनामध्ये पुसबाहेक अन्य ६ महिनामा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ७८ अर्ब रुपैयाँ मात्र छ । तर, पुसमा भने १ खर्ब ५ अर्ब रुपैयाँले कर्जा विस्तार भएको छ ।

बैंकका अनुसार वाणिज्य बैंकहरुको साउनमा कर्जा प्रवाह ११ अर्ब रुपैयाँले घटेको छ भने भदौ र असोजमा ४३ र ४१ अर्बले बढेको छ । यस्तै, कात्तिकमा फेरि २३ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेकामा मंसिरमा २७ अर्बले बढेको छ । माघमा भने फेरि एक अर्ब रुपैयाँले मात्र कर्जा बढेको देखिन्छ । कर्जा प्रवाहको यस्तो अवस्था वाणिज्य बैंकहरुको मात्र होइन, विकास बैंकलगायत सबैको बढेको हो ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४९ खर्ब ७५ अर्ब रुपैयाँ ऋण विस्तार गरेका थिए । त्यसपछि साउनमा घटेर ४९ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको थियो । भदौमा कर्जा विस्तारमा पुनः सुधार आउँदा कुल ऋण ५० खर्ब ७ अर्ब रुपैयाँ पुग्यो । असोजमा पनि ऋण प्रवाह विस्तार हुँदै ५० खर्ब ४८ अर्ब रुपैयाँ पुगेको थियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि निजी क्षेत्रले कर्जाको माग गर्नै छाडेका कारण भदौमा कर्जा विस्तारमा संकुचन भयो । त्यसको असर कात्तिकसम्ममा धेरै नै देखियो । गत कात्तिकमा कर्जा विस्तार २३ अर्ब रुपैयाँले घटेर ५० खर्ब २५ अर्ब रुपैयाँमा झरेको थियो ।

त्यसपछि मंसिरमा वाणिज्य बैंकहरूको कर्जा विस्तार बढेकाले कुल ऋण ५० खर्ब ५२ अर्ब रुपैयाँ पुगेको थियो । पुसमा एकै पटक एक सय ५ अर्बले कर्जा विस्तार हुँदा कुल ऋण ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । माघमा ऋण वृद्धि स्थिरजस्तै रह्यो । माघमा एक अर्ब रुपैयाँले मात्र कर्जा वृद्धि हुँदा कुल ऋण ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

खासगरी त्रैमासको अन्त्यमा कर्जा बढ्ने अवस्था विगतदेखिकै हो । कतिपयले कर्जा विस्तारको लक्ष्य पूरा गर्न त्रैमासको अन्तिममा कर्जा विस्तार गर्छन् ।  वाणिज्य बैंकहरूले त्रैमासको अन्त्यमा कर्जा बढाउने प्रवृति नयाँ नभएको बैकिङ क्षेत्रका जानकारहरू बताउछन् । तोकिएको लक्ष्य पुर्‍याउन र जरिवानाबाट जोगिन बैंकहरूले छोटो अवधिको कर्जा विस्तार गरेका हुन् । यसले बैंकहरूको कर्जा वृद्धि तथ्यांकमा देखाए पनि प्रभाव नहुने उनीहरुको भनाइ छ ।

कर्जा सुस्त भएको अवस्थामा पुसमा मात्र उच्च दरले बढ्नुमा कतै प्रणालीगत कमजोरी लुकेको हुन सक्ने जानकारहरुको भनाई छ ।बैकिङ क्षेत्रका जानकारहरूका अनुसार पुसमा मात्र कर्जा वृद्धिमा खुशी हुनुपर्ने ठाउँ छैन । कुनै महिना विशेषमा भन्दा पनि निरन्तर कर्जा वृद्धि गर्न सकेमा बैंक तथा वित्तीय संस्थाको क्षमता अब्बल रहेको सूचना सर्वसाधारणमा जाने उनीहरुको भनाई छ ।

 

Leave Your Comment

Related News