CLI

उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’  नाराका साथ आजदेखि पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

काठमाडौं ।  नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ ।

‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त सञ्चालक र देशभरका ६ सय भन्दा बढी सदस्यहरूको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले नेपालमा गरिबीको दर उल्लेख्य रूपमा घट्नुमा लघुवित्तको ठूलो योगदान रहेको बताए । उनका अनुसार, नयाँ मापदण्ड अनुसार नेपालमा गरिबी २० प्रतिशत र पुरानो मापदण्ड बमोजिम ४ प्रतिशतमा झरेको छ । “यद्यपि, जाजरकोट जस्ता दुर्गम जिल्लाका कतिपय स्थानीय तहमा अझै ७८ प्रतिशतसम्म गरिबी विद्यमान रहेकाले लघुवित्त संस्थाहरू अब शहरी क्षेत्रमा मात्र सीमित नभई दुर्गम क्षेत्रमा केन्द्रित हुन जरुरी छ,” उपाध्यक्ष डा। श्रेष्ठले भने ।

लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरूबारे चर्चा गर्दै डा. श्रेष्ठले कोभिड–१९ पछिको आर्थिक सुस्तता, संस्थागत सुशासनको अभाव र बढ्दो निष्क्रिय कर्जालाई मुख्य चुनौतीका रूपमा औंल्याए । उनले भने “संस्थाहरूले संस्थागत सुशासन पालना गर्नुपर्छ र सदस्यहरूले पनि वित्तीय अनुशासन कायम राख्नुपर्छ,” उनले थपे । अबको लघुवित्त क्षेत्र क्रेडिट प्लस मोडलमा जानुपर्ने र केवल ऋण प्रवाहमा मात्र सीमित नभई उत्पादनको बजारीकरणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । धेरै उद्यमी र किसानहरूले बजार नपाएको गुनासो गर्ने गरेको सन्दर्भमा लघुवित्तले बजारीकरणमा सहयोग पु¥याउनुपर्नेतर्फ उनले जोड दिए ।

देशमा बढ्दो बसाईंसराइ र वैदेशिक रोजगारीका कारण श्रम शक्तिको अभाव भइरहेको र मागमा शिथिलता आएको भन्दै उनले लघुवित्तलाई पुरानै ढर्राबाट नभई प्रविधि र समयको परिवर्तन अनुसार परिमार्जन गर्न आग्रह गरे । दुई दिनसम्म चल्ने यस सम्मेलनले निकाल्ने निष्कर्ष नियामक निकाय, नेपाल सरकार र स्वयं लघुवित्त संस्थाहरूका लागि पनि महत्वपूर्ण मार्गदर्शन हुने अपेक्षा डा. श्रेष्ठको भनाइ छ ।

 

Leave Your Comment

Related News