CLI

नेपालमै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक, यामाहाको नयाँ युग सुरु

काठमाडौं । यामाहाले नेपालमा पहिलोपटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ। राजधानी काठमाडौंको कमलादीस्थित स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा उक्त मोटरसाइकल अनावरण गरिएको हो।

नयाँ हाइब्रिड मोटरसाइकल एफजेड सिरिजमा आधारित रहेको छ, जसमा १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ। यस प्रणालीले परम्परागत मोटरसाइकलभन्दा उच्च एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, कम इन्धन खपत र न्यून उत्सर्जन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरलाई लक्षित प्रिभ्यु कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा सञ्चारकर्मी, व्यवसायिक साझेदार र राइडिङ समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ। कार्यक्रममा रोबोट र मानिसको संयुक्त प्रस्तुति तथा “एक्सपिरियन्स जोन”मार्फत एफजेड सिरिजको इतिहास र प्रविधि प्रदर्शनी पनि गरिएको थियो।

नयाँ मोटरसाइकलले ६० किलोमिटरभन्दा बढी माइलेज दिने, कम सञ्चालन खर्च हुने तथा वातावरणमैत्री हुने दाबी गरिएको छ। १३५ केजी तौलको हल्का संरचना, बोश एबीएस, रियर डिस्क ब्रेक र आधुनिक डिजाइन सुविधाले यसलाई सुरक्षित र आकर्षक बनाएको छ।

नेपालभर रहेका १०० डिलरशिप र सेवा केन्द्रमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यामाहाले यस अनावरणसँगै नेपालको मोटरसाइकल उद्योगमा प्रविधिमैत्री र दिगो यातायातको नयाँ युग सुरु भएको दाबी गरेको छ।

Leave Your Comment

Related News