CLI

म्युचुअल फन्डहरुको सेयर बजारमा ६३ अर्ब ८५ करोड लगानी, ब्याजदर घट्दा लगानी स्टक मार्केटमा केन्द्रित

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा गर्ने लगानी बढाएका छन् । फन्डहरुले फागुन महिनामा सेयर मार्केटमा ६३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन् । यो गएको माघ महिनाको भन्दा ९.६३ प्रतिशत धेरे हो । माघ महिनामा फन्डहरुले ५८ अर्ब २४ करोड ४ लाख रुपैयाँ लगानी गरेका थिए ।

फन्डहरुको संख्या बढेसँगै यिनीहरुले मार्केटमा गरेको लगानीको आकार पनि बढेको छ । सामूहिक लगानी कोषहरुको ठूलो लगानी सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतारचढाव आउँदा लगानी वा नाफा पनि तलमाथि हुने गर्छ । गएको फागुन महिना सेयर बजारमा केही वृद्धि देखिको थियो ।

निर्वाचन भएपछि नयाँ सरकार आउने र त्यसले ल्याएको नीति पनि बजार मैत्री हुने भन्दै लगानीकर्ताहरु विश्वस्त थिए । त्यसैले बजार बढेको थियो। सँगसँगै लगानी पनि बढेको हो । त्यसमाथि अहिले बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर पनि निकै कम छ ।

ब्याजबाट भन्दा अन्य क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो हुने देखिएपछि फन्डहरुले पनि सेयर बजारमा लगानी बढाएका छन् । बैंकमा राख्नु भन्दा सेयर बजारबाट नाफा धेरै हुने देखिएको कारण म्युचुअल ‌फन्डलगायत संस्थागत लगानीकर्ताले पनि बजारमा लगानी बढाएका हुन् ।

फागुन महिनाको रिपोर्ट अनुसार एनएमबीएल सहभागिता फन्डले सेयर बजारमा ८ अर्ब ३३ करोड २६ लाख लगानी गरेको छ । एनएमबि सरल बचतले ४ अर्ब ४ करोड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्टले २ अर्ब २८ करोड, एचएलआइ लार्जले २ अर्ब ४ करोड लगानी गरेको छ । यी ४ वटा फन्डहरुले बजारमा २ अर्ब भन्दा धेरै लगानी गरेका छन् ।

५६ फन्डहरु मध्ये २८ वटाले सेयर बजारमा १ अर्ब भन्दा धेरै लगानी गरेका छन् । बाँकी फन्डहरुको लगानी १ अर्ब भन्दा कम छ । जसमध्ये ६ वटाको मार्केटमा ५० करोड भन्दा कमको लगानी छ । यी फन्डहरु सञ्चालनमा आएको धेरै भएको छैन । त्यसैले लगानी विस्तारै बढाउँदै लैजाने छन् ।

सेयर बजारमा फन्डहरुको लगानी बढ्नु समग्र स्टक मार्केटका लागि निकै राम्रो पक्ष हो । संस्थागत लगानीकर्ताको बजारमा आकर्षण बढेपछि आम लगानीकर्ताहरु पनिबजार प्रति सकारात्मक देखिन्छन् । क्यापिटलहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार धेरै फन्डहरुको सेयर बजारमा लगानी बढेको छ ।

Leave Your Comment

Related News