काठमाडौं । नेप्से सूचक आइतबार १०५.५० अंकले घटेको छ । बजार यसदिन ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा झरेको छ । यो गएको असोज २ गते यताकै उच्च गिरावट हो । यसले नयाँ सरकार प्रति लगानीको विश्वास कम भएको देखिन्छ । नयाँ सरकार गठन भएयता मार्केट दैनिक जस्तो घटेको छ । बजार ६ कारोबार दिनमा करिब १० प्रतिशत घटेको छ । मार्केटसँगै लगानीकर्ताको सम्पतिमा पनि ठूलो गिरावट देख्न सकिन्छ । नयाँ सरकार आएयता सेयर लगानीकर्ताको सम्पति करिब साढे ४ खर्ब रुपैयाँले घटेको छ ।

बजारमा यस्तो ठूलो गिरावट आउँदा पनि सरकारले सेयर लगानीर्ताको नाममा कुनै सम्बोधन गरेको छैन । जबकि, लगानीकर्ता यो सरकार सेयर बजार मैत्री हो भन्दै बुझ्दै आएका छन् । त्यस्तो त, बजार घट्दैमा सरकारलाई सबै दोष लगाउन पनि मिल्दैन । तर, मार्केटबाट सम्पति यसरी घट्दा पनि सरकारले कुनै चासो नदिनाले लगानीकर्ताहरुमा झनै डर पैदा भएको छ ।
आइतबार ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यी सबै नयाँ लिस्टेड कम्पनीहरु हुन् । जसमध्ये ६ वटाको सेयर भाउ १० प्रतिशतले बढेको छ । केही म्युचुअल फन्डहरुको मूल्य पनि बढेको छ । यता, १७ वटा कम्पनीको बजार भाउ ९ प्रतिशत भन्दा धेरैले घटेको छ । सबैभन्दा धेरै कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स, शिवम् शिमेन्ट्स, ङादी पावर, नेसनल हाइड्रापावर, एनआरएन रहेका छन् । सेयर बजारमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि देखिएको छ । बजार घट्दा कारोबार रकम बढ्छ भने त्यसलाई खासै राम्रो माइदैन ।
यसले पनि बजारमा थप प्यानिक बढेको देखाएको छ । लगानीकर्ताहरुले जति रेट पाउँछन् त्यसैमा बिक्री गरेको देखिन्छ । यसलाई मार्केट क्याप्चुलेसन पनि भनिन्छ । सरकारले केही बिचौलिया र ठूला व्यापारिहरुलाई सम्पति सुद्धिकरण मुद्धमा समातेपछि पनि बजारमा केही डर पैदा भएको हो । यस्तो अवस्थामा सरकारले लगानीकर्ताको मनोबल उकास्ने काम गरेको छैन ।
त्यसो त, लगानीकर्ताहरुको हितको लागि भनेर स्थापना भएका संस्थाहरुले पनि कुनै कदम चालेका छैनन् । न त कुनै विज्ञाप्ति छ न त कुनै दबाब । बजारबाट लगानीकर्ताहरुले यसरी सम्पति गुमाउँदा पनि लगानीकर्ताले लागि भनेर खोलिएका संस्थाहरु मौन छन् ।



