CLI

स्नो रिभर्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागिन निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २३ गते) अन्तिम दिन रहेको हो ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको वडा नं. ८ का स्थानीय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं. ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. १ का स्थानीय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना स्थल, याम्फुदिन, नेपाल बैंकको सिरी जङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

Leave Your Comment

Related News