CLI

भृकुटी स्टक ब्रोकिङ निलम्बित, दीपक भट्ट प्रकरणमा सेबोनको कडा कारबाही

काठमाडौं । धितोपत्र बजारमा बढ्दो जोखिम र नियम उल्लंघन नियन्त्रण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कडा कदम चाल्दै ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ।

सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई तत्काल प्रभावबाट कारोबार गर्न नपाउने गरी निलम्बन गर्नुका साथै व्यवस्थापन र सञ्चालकसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार निलम्बन अवधि ३ महिनासम्म रहन सक्ने र थप आर्थिक जरिवाना समेत लगाइने तयारी छ।

यो कारबाही व्यवसायी दीपक भट्टसँग सम्बन्धित विवादास्पद सेयर कारोबारपछि आएको हो। अनुसन्धानमा भृकुटी स्टकले प्रचलित नियम विपरीत भट्टलाई उधारोमा सेयर किनबेच गराएको, २५ प्रतिशत अनिवार्य मार्जिन नलिएको र भुक्तानी नलिई सेयर हस्तान्तरण गरेको पाइएको छ।

सम्पत्ति शुद्धीकरण विभागको छानबिनले समेत गम्भीर वित्तीय अनियमितता औंल्याएको छ । भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गर्दा आफ्नै खाताबाट नभई विभिन्न व्यक्ति तथा खातामार्फत भुक्तानी व्यवस्थापन गरेको देखिएको छ, जसले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको निष्कर्ष निकालिएको छ।

यसका साथै, बीमा कम्पनी र सामूहिक लगानी कोषहरूसँगको कारोबारमा पनि ठूलो परिमाणमा भुक्तानी बक्यौता रहेको खुलेको छ। हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लार्ज क्याप फन्डसँग सम्बन्धित कारोबारहरूमा रकम समयमै नतिरेको पाइएको छ ।

Leave Your Comment

Related News