काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैतमा घरजग्गा कारोबार बढेको छ। गत महिना चुनावी माहोलले सुस्ताएको कारोबार चैतमा भने वृद्धि भएको छ।
यस महिना देशभरका मालपोत कार्यालयहरूबाट ५५ हजार ५ सय ३१ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।
यो कारोबार संख्या अघिल्लो महिनाको तुलनामा ५२.२६ प्रतिशतले बढी हो। फागुनमा ३६ हजार ४ सय ७१ वटा घरजग्गा कारोबार भएको थियो।
गत वर्ष चैतको तुलनामा पनि यस वर्षको कारोबार ११.४३ प्रतिशतले बढेको देखिन्छ। गत चैतमा देशभर ४९ हजार ८ सय ३२ वटा घरजग्गा कारोबार भएको थियो। चैतमा कारोबारसँगै राजस्व सङ्कलन पनि बढेको छ। फागुनमा ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा चैतमा भने ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ सङ्कलन भएको छ।
सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त गर्दछ। त्यसमध्ये सबैभन्दा बढी राजस्व सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ। चैत महिनामा सरकारले सेवा करबाट ३६ करोड १ लाख ५५ हजार रुपैयाँ, रजिस्ट्रेसनबाट ३२ करोड २८ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट २५ करोड २७ लाख रुपैयाँ सङ्कलन गरेको छ।


