काठमाडौं । ब्रोकर कम्पनीहरुको नाफा गत आर्थिक वर्ष उल्लेखनीय रुपमा वृद्धि भएको छ । धितोपत्र कारोबार गर्ने ८९ वटा ब्रोकर कम्पनीहरुले समग्रमा ५ अर्ब ४७ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २२५.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यी कम्पनीहरुको नाफा करिब १ अर्ब ६८ करोड रुपैयाँ मात्र थियो ।
हाल ९२ वटा ब्रोकर कम्पनीहरुले धितोपत्र कारोबार गर्दै आएका भए पनि यो विवरण ८९ कम्पनीहरुको खुद नाफामा आधारित छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन, अर्थात् २०८२ को असार ३२ गते नेप्से सूचक २२४० विन्दुमा बन्द भएको थियो । त्यसपछि बजारमा तीव्र वृद्धि आएर साउन ३१ गतेसम्म सूचक ३ हजार विन्दुसम्म पुगेको थियो । यस अवधिमा दैनिक कारोबार रकम २९ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
त्यसपछि बजारले खासै उचाइ लिन नसके पनि वर्षभरी नै उच्च उतारचढाव कायम रह्यो । सूचक प्रायः २६ सयदेखि २९ सय विन्दुको दायरामा घुमिरह्यो र यसबीच तीन–तीन पटक २६ सय र २९ सय विन्दु छोएको देखियो । कारोबार रकम भने समग्रमा उच्च नै रह्यो ।
कारोबारमा आएको यही वृद्धिले ब्रोकर कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । दैनिक अरबौं रुपैयाँको सेयर कारोबार हुँदा ब्रोकर कम्पनीहरु उल्लेखनीय रुपमा नाफामा गएका छन् । यद्यपि, सबै कम्पनीले नाफा कमाउन सकेका छैनन्।
माछापुच्छ्रे सेक्युरिटीज, एप्पल, पाही, बेनी र मनी वर्ल्ड सेयर एक्सचेन्ज गरी ५ वटा ब्रोकर कम्पनीहरुले भने गत वर्ष घाटा व्यहोरेका छन्, जबकि बाँकी अधिकांश कम्पनीहरु नाफामा रहेका छन्।
नाफा आर्जनका हिसाबले नागरिक स्टल डिलर अगाडि देखिएको छ, जसले ३६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १ प्रतिशतले बढी हो । त्यस्तै, नासा सेक्युरिटीजले ३१ करोड २१ लाख, इम्पेरियरले २८ करोड ७८ लाख, भिजनले २२ करोड ७ लाख, अनलाइनले १९ करोड ६ लाख र सानी सेक्युरिटीजले १७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।
समग्रमा हेर्दा अधिकांश ब्रोकर कम्पनीहरुको नाफा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ, जसको मुख्य कारण सेयर बजारमा आएको वृद्धि र कारोबार रकममा भएको विस्तार हो ।
यता घाटा व्यहोर्ने ब्रोकर कम्पनीहरु प्रायः नयाँ भएकाले उनीहरुलाई सञ्चालन खर्च धान्नै चुनौती देखिएको छ । नयाँ कम्पनीहरुको ग्राहक संख्या कम हुनु, कारोबार रकम न्यून रहनु र प्रतिस्पर्धा तीव्र हुनु जस्ता कारणले उनीहरु नाफा कमाउन असमर्थ भएका हुन् ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले नयाँ ब्रोकर कम्पनीहरुलाई दीर्घकालीन रुपमा टिकाइराख्न मार्जिन कारोबार र इन्ट्रा-डे कारोबार जस्ता व्यवस्था आवश्यक रहेको बताउँदै आएका छन् । उनले ब्रोकरहरुले केवल सेयर किनबेचबाट प्राप्त हुने कमिसनका आधारमा मात्र टिक्न कठिन हुने तर्क पनि गर्दै आएका थिए ।
यसबीच नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले हालसालै मार्जिन कारोबार सम्बन्धी कार्यविधि लागू गरिसकेका छन्, जसअनुसार अब लगानीकर्ताले मार्जिन ट्रेडिङ गर्न सक्नेछन् । यसले आगामी वर्षहरुमा ब्रोकर कम्पनीहरुको आम्दानीमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
नयाँ ब्रोकरहरुले आक्रामक व्यापार विस्तार गर्दै
यता, केही नयाँ ब्रोकर कम्पनीहरुले पुराना र स्थापित ब्रोकरहरुलाई चुनौती दिन थालेका छन् । दशकौँदेखि बजारमा आफ्नो स्थान बनाएका कम्पनीहरुलाई क्यापिटल म्यक्स, सेयर प्रो र इन्डेक्स सेक्युरिटिज जस्ता नयाँ ब्रोकरहरुले कडा प्रतिस्पर्धा दिएका छन्। केही नयाँ कम्पनीहरु त कारोबार रकम र कार्यक्षमताका आधारमा पुराना कम्पनीहरुभन्दा अगाडि देखिन थालेका छन्।
कुन ब्रोकरले कति कमाए नाफा ?




