काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षणका क्रममा दिपक भट्टले धितोपत्र खरिद–बिक्री वापतको रकम लिने–दिने नगरेको देखिएको छ । धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.ले बोर्डमा पेश गरेको विवरण बमोजिम दिपक भट्टको कारोवार खाता टीएमएसको विवरण अनुसार उनले धितोपत्र खरिद बिक्रीमा कुनै पनि रकम भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई दिने र लिने कार्य भएको देखिएको छैन् ।
अनुसन्धान अनुसार दिपक भट्टले २०८२ साउन ०१ गतेदेखि माघ २५ गतेसम्म ठूलो परिमाणमा धितोपत्र कारोबार गरेका छन्। यस अवधिमा उनले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायत विभिन्न कम्पनी तथा ऋणपत्र (डिबेञ्चर) हरूमा करोडौँ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
तर यी कारोबारहरूमा वास्तविक रकम भुक्तानी वा प्राप्तिको स्पष्ट प्रवाह भएको छैन। धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को विवरण अनुसार दिपक भट्टले कारोबारका लागि आवश्यक रकम सिधै नगद रूपमा लेनदेन गरेको प्रमाण भेटिएको छैन।
उधारोमा कारोबार र मिलेमतोको संरचना
अनुसन्धानले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको भट्टले उधारो वा एडभान्स रकमको आधारमा कारोबार सञ्चालन गर्नु हो। भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को विवरण अनुसार दिपक भट्टले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई एडभान्स रकम उपलब्ध गराई त्यसैको आधारमा सेयर खरिद गराएका थिए।
यस क्रममा हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड लगायत संस्थाहरू संलग्न रहेको देखिएको छ। साथै मिना कुमारी अग्रवाल, रोहित गुप्ता र शेखर गोल्छाजस्ता व्यक्तिहरूको नाम पनि उल्लेख गरिएको छ।
करोडौँको लेनदेन तर असन्तुलित हिसाब
तालिका अनुसार केही संस्थाहरूले ठूलो मात्रामा रकम दिन बाँकी रहेको देखिन्छ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको मात्रै अर्बौँ रुपैयाँ बराबरको बक्यौता देखिएको छ। त्यस्तै एचएलआई लार्ज क्याप फण्ड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड लगायतका संस्थाहरूको पनि ठूलो रकम असन्तुलित अवस्थामा रहेको उल्लेख छ।
अर्कोतर्फ, केही व्यक्ति तथा संस्थाहरूले लिन बाँकी रकम भए पनि थप रकम जम्मा गरेर कारोबार सञ्चालन गरेको देखिएको छ, जसले सामान्य बजार अभ्यासभन्दा फरक र योजनाबद्ध कारोबार भएको संकेत गर्छ।
बैंक खाताबाट रकम प्रवाह र राफसाफ प्रणालीको प्रयोग
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.का बैंक खाताहरूमा विभिन्न व्यक्ति तथा संस्थाबाट ठूलो रकम जम्मा भएको देखिएको छ। ती रकमहरू पछि राफसाफ खातामा स्थानान्तरण गरी धितोपत्र कारोबारका लागि प्रयोग गरिएको पाइएको छ।
विशेषगरी एचएलआई लार्ज क्याप फण्डले ठूलो परिमाणमा रकम जम्मा गरी सेयर खरिद गरेको देखिएको छ। तर सोही संस्थाको नाममा अझै पनि ठूलो रकम लिन बाँकी रहेको देखिनु लेनदेन प्रक्रियामा असन्तुलन रहेको प्रमाणका रूपमा लिइएको छ।
नेपाल धितोपत्र बोर्डले यस घटनालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५ र ९६ अन्तर्गत पर्ने गम्भीर कसूरको रूपमा व्याख्या गरेको छ। सोही आधारमा थप विस्तृत अनुसन्धान र कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको छ।



