काठमाडौं । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८२/८३ मा करिब ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। उपभोक्ताको मूल्य (Purchaser’s Price) का आधारमा गरिएको यो अनुमानले अर्थतन्त्र विस्तार हुँदै गएको देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान छ। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा यो आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो।
राष्ट्रिय लेखा प्रणालीअन्तर्गत हालका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष (Base Year) मानेर गरिएको हो।
आर्थिक वृद्धिदरको सन्दर्भमा आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्य (Basic Price) अनुसार ३.६८ प्रतिशत र उपभोक्ताको मूल्य (Purchaser’s Price) अनुसार ३.८५ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.८० प्रतिशत र उपभोक्ताको मूल्यमा ४.४३ प्रतिशत रहने संशोधित अनुमान छ। आर्थिक वर्ष २०८०/८१ मा भने आधारभूत मूल्यमा ३.३८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.६८ प्रतिशत आर्थिक वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ।
सरकारी विवरणले अर्थतन्त्र विस्तार भइरहेको देखाए पनि वृद्धि दर अझै मध्यम स्तरमै रहेको संकेत गरेको छ।


