काठमाडौं । सरकार मातहत आएको ‘स्मार्ट सेल’ सम्पत्तिलाई गैरकानुनी रुपमा हटाउन खोजेको आरोपम पलिना दुई जना पक्राउ परेका छन् । सरकारको मातहतमा आएको स्मार्ट टेलिकम प्रा. लिको सम्पत्तिबाट सरकारको अधिकार हटाउन खोजेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाडौंले पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पक्राउ गरेको हो ।
ब्यूरोले ५५ वर्षिय श्रेष्ठलाई जमल र ६२ वर्षिय उलाकलाई बखुन्डोल , ललितपुरबाट पक्राउ गरेको हो । उनीहरु माथि सरकारको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमलाई गैरकानुनी रूपमा एनसेल प्रालिलाई सुम्पने काम गरेको आरोप रहेको छ । श्रेष्ठ र उलाक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गरेको लिलाम प्रक्रियामा सहभागी भएका ठेकेदार कम्पनिका संचालक हुन् ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)का प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरू स्मार्टसेल लिलाम प्रक्रियामा सेटिङमा सहभागी भएका ठेकेदार कम्पनिका संचालक हुन् ।
‘नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट मिति २०७०।०१।०२ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं.बीटीएसल–०१) लिई सञ्चालन भएको ‘स्मार्ट टेलिकम प्रालि’ ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८०/१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ गैरकानूनी रूपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रही ठगी तथा आपराधिक विश्वासघात कसूरमा थप २ जना निम्न अभियुक्तहरूलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत लिई यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान भइरहेको,’ सीआईबीले विज्ञप्तिमा भनेको छ ।


