काठमाडौं । भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताले लगानी फिर्ता गर्ने क्रम तीव्र बनेको छ । डिपोजिटरी संस्था एनएसडीएलको तथ्यांकअनुसार मे महिनासम्म मात्रै विदेशी पोर्टफोलियो लगानीकर्ताहरु (एफपीआई) ले भारतीय इक्विटी बजारबाट २७ हजार ४८ करोड भारतीय रुपैयाँ निकालेका छन्।
सन् २०२६ सुरु भएयता भारतीय बजारबाट विदेशी लगानीकर्ताले कुल २.२ लाख करोड रुपैयाँ बराबरको लगानी फिर्ता गरिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो रकम सन् २०२५ भरि भएको १.६६ लाख करोड रुपैयाँको निकासीभन्दा पनि बढी हो ।
यस वर्ष जनवरीमा मात्रै एफपीआईहरुले ३५ हजार ९६२ करोड रुपैयाँ निकालेका थिए । फेब्रुअरीमा भने केही सुधार देखिएको थियो, जहाँ २२ हजार ६१५ करोड रुपैयाँ भित्रिएको थियो । यो पछिल्लो १७ महिनायताकै सबैभन्दा ठूलो मासिक लगानी थियो ।
तर त्यसपछि पुनः तीव्र बिक्री दबाब देखिएको छ । मार्चमा रेकर्ड १.१७ लाख करोड रुपैयाँ बाहिरिएको थियो भने अप्रिलमा ६० हजार ८४७ करोड रुपैयाँ बराबरको निकासी भएको थियो ।
विश्लेषकहरुका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव तथा कच्चा तेलको मूल्यमा भइरहेको उतारचढावले भारतजस्ता उदाउँदा बजारप्रति लगानीकर्ताको आकर्षण घटाएको छ।
मर्निङस्टार इन्भेस्टमेन्ट रिसर्च इन्डियाका अनुसन्धान प्रमुख हिमांशु श्रीवास्तवका अनुसार अमेरिकी डलरको मजबुती र अमेरिकी बन्ड प्रतिफल उच्च रहँदा विकसित बजारहरु तुलनात्मक रुपमा बढी सुरक्षित र आकर्षक देखिएका छन् । यसले लगानीकर्तालाई भारतजस्ता बजारबाट बाहिरिन प्रेरित गरेको उनले बताएका छन्।
त्यस्तै, विश्वव्यापी मुद्रास्फीति तथा प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर कटौती कहिले र कति गर्ने भन्ने अन्योलले पनि पुँजी प्रवाहमा असर गरिरहेको विश्लेषण गरिएको छ।
जियोजित इन्भेस्टमेन्ट्सका प्रमुख रणनीतिकार वी के विजयकुमारका अनुसार निरन्तर विदेशी लगानी निकासी र चालु खाता घाटा बढ्दै जाँदा भारतीय रुपैयाँमाथि दबाब परेको छ। वर्षको सुरुवातमा एक अमेरिकी डलर बराबर ९० रुपैयाँ रहेको भारतीय मुद्रा मे १५ सम्म आइपुग्दा ९६.१४ सम्म कमजोर भएको उनले बताएका छन्।
उनले विदेशी लगानी निकासी जारी रहे र कच्चा तेलको मूल्य उच्च रहिरहे भारतीय रुपैयाँ अझ कमजोर हुन सक्ने चेतावनी दिएका छन्।
विश्लेषकहरुले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित कम्पनीतर्फ विश्वव्यापी पुँजी प्रवाह बढेको कारण पनि भारतजस्ता बजारमा लगानी घटेको बताएका छन्। एआईसँग सम्बन्धित लगानी अहिले “बबल” अवस्थातर्फ गएको दाबी गर्दै यो प्रवृत्ति भविष्यमा कमजोर भएपछि पुनः भारतजस्ता बजारमा लगानी फर्किन सक्ने अनुमान गरिएको छ।


