काठमाडौं । नेपालमा दुई वर्षयता सवारी साधन एसेम्बलिङ उद्योगहरु दर्ता हुने क्रम बढिरहेको छ। दर्ता भएका एसेम्बलिङ उद्योगहरुमध्ये विद्युतीय सवारी साधन एसेम्बलिङ उद्योगहरुको संख्या धेरै देखिन्छ।
उद्योग विभागको विवरण अनुसार २०८१ यता १२ वटा विद्युतीय सवारी साधन एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन्। उक्त विवरण अनुसार काठमाडौं, रुपन्देही, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा यी उद्योगहरु स्थापना भएको छ ।
विवरण अनुसार बागमती प्रदेशको मकवानपुर जिल्लास्थित हेटौँडा उपमहानगरपालिकामा मात्र दुईवटा ठूला उद्योगहरु थपिएका छन्। हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा दर्ता भएको टि.बि.डी. इन्फ्राटेकले विद्युतीय सवारी साधनका साथै स्वदेशमै विद्युतीय सवारी चार्जर समेत एसेम्बलिङ गर्ने विशेष अनुमति पाएको छ।
टिबिडी इन्फ्राटेकले वार्षिक ७,००० वटा विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ, जसमा २,००० वटा विद्युतीय भ्यान र ५,००० वटा विद्युतीय मोटरसाइकल वा स्कुटर रहेका छन्।
त्यस्तै, हेटौँडाकै डबल विङ्स इलेक्ट्रिक भेहिकल प्रा. लि. ले पनि आफ्नो उद्योग दर्ता गराएर एसेम्बलिङको काम अघि बढाउने तयारी गरेको छ। यसको वार्षिक उत्पादन क्षमता ९०० वटा विद्युतीय मोटरसाइकल/स्कुटर, २५० वटा विद्युतीय कार/भ्यान र ३०० वटा विद्युतीय तीन-पाङ्ग्रे सवारी साधन रहनेछ।
काठमाडौं जिल्लामा भने ४ वटा उद्योगहरु दर्ता भएका छन्। टोखा नगरपालिका वडा नं. ३ मा नेपाल इस्टर्न मेसिनरी कम्पनी प्रा. लि. दर्ता भएको छ। यस उद्योगले मुख्य रुपमा विद्युतीय सवारी साधन एसेम्बलिङ गर्ने उद्देश्य राखेको छ। केमल इलेक्ट्रिक मोटरसाइकल टेक्नोलोजी प्रालिले इलेक्ट्रिक दुई-पाङ्ग्रे सवारी साधन एसेम्बल गर्नेछ। साथै, काठमाडौं जिल्लामै मिचे अटो नेपाल प्रालि दर्ता भएका छन्।
त्यस्तै, लि हान इभी इन्डस्ट्रीले ललितपुरमा आफ्नो प्लान्ट स्थापना गरी वार्षिक ६०० वटा विद्युतीय दुई-पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ।
यता, शुन्डा इलेक्ट्रिक भेहिकल कम्पनीले चितवनमा आफ्नो प्लान्ट स्थापना गर्नेछ, जसको वार्षिक रुपमा २५० वटा विद्युतीय तीन-पाङ्ग्रे र ५५० वटा विद्युतीय दुई-पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने योजना रहेको छ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं. ४ मा वेगा अटोमोबाइल्स म्यान्युफ्याक्चर प्रा. लि. स्थापना भएको छ, जसले विशेष गरी दुई-पाङ्ग्रे र तीन-पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको उत्पादन तथा एसेम्बलिङमा जोड दिने जनाएको छ।
यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ मा रुई छियाओ कम्पनी दर्ता भई विद्युतीय सवारी एसेम्बलिङ उद्योगको रुपमा अघि बढेको छ ।


