अमेरिका । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको प्रविधि उद्योगप्रति अन्तर्राष्ट्रिय चासो बढाएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमले नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु चिनाउने प्रयास गरेको हो।
कार्यक्रम अमेरिकाको डलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपभाइनमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा नेपाली डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
रोडशोमा नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष प्राविधिक जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरिएको थियो। कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरबारे आफ्ना धारणा राखेका थिए।
हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी सञ्चालनमा रहेका छन् भने १ लाखभन्दा बढी टेक प्रोफेसनल कार्यरत रहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो। साथै, नेपालबाट वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी सेवा तथा प्रविधि निर्यात भइरहेको जानकारी दिइएको थियो।
कार्यक्रममा सहभागीहरूले पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको तीव्र प्रगतिले नेपाली डायस्पोरा समुदायलाई समेत सकारात्मक रूपमा प्रभावित पारेको बताएका छन्। रोडशोले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ।
नास आईटीले यसअघि ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ आयोजना गरिसकेको छ। यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको संस्थाले जनाएको छ।
अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा सम्पन्न कार्यक्रममा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स, फोकस हेल्थ, फ्युजमेसिन्स तथा ग्लोबल आईएमई बैंक लगायत संस्थाहरूको सहकार्य रहेको थियो।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) नेपालको सफ्टवेयर तथा आईटी सेवा क्षेत्रको अग्रणी गैरनाफामूलक संस्था हो। संस्थाले नीतिगत पैरवी, दक्ष जनशक्ति विकास, नवप्रवर्तन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत नेपालको प्रविधि उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ काम गर्दै आएको जनाएको छ।



