काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकले विधानअनुसार निर्वाचन कार्यक्रम स्वीकृत गरेको जनाएको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार जेठ ८ गते अपराह्न १ बजेदेखि मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसपछि दाबी–विरोध, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी दर्ता तथा फिर्तासम्बन्धी कार्यक्रम सञ्चालन हुनेछन् ।
निर्वाचन समितिका अनुसार अपराह्न साढे २ बजेदेखि साढे ३ बजे बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम घोषणा गरिने जनाइएको छ ।
महासंघको विधानअनुसार योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरूलाई तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन आग्रह गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ र कोषाध्यक्ष पदका लागि ३ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ।
महासंघले कार्यसमितिको बैठकका कारण आवश्यक परे निर्वाचन कार्यक्रमको समय परिवर्तन हुन सक्ने पनि जनाएको छ ।


