CLI

ह्वाइट हाउस नजिक गोलीकाण्ड, सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहानमा आक्रमणकारीको मृत्यु

काठमाडौं । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार भएको गोलीकाण्डमा सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएपछि एक बन्दुकधारीको मृत्यु भएको छ ।

युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका अनुसार संदिग्ध व्यक्ति ह्वाइट हाउस नजिक १७औँ सडक र पेन्सिलभेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । त्यसपछि उनले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए।

सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा ती व्यक्तिलाई गोली लागेको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि पछि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनामा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन्। ती व्यक्ति बन्दुकधारीले चलाएको गोलीबाट घाइते भएका वा दोहोरो गोली हानाहानका क्रममा लागेका हुन् भन्ने अझै स्पष्ट नभएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार आक्रमणकारी मानसिक रूपमा अस्थिर व्यक्ति थिए र उनीविरुद्ध यसअघि नै “स्टे-अवे अर्डर” जारी गरिएको थियो । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको सिक्रेट सर्भिसले जनाएको छ । गोलीकाण्ड हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका थिए।

Leave Your Comment

Related News