काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको आधारदर र प्रिमियरबारे जानकारी लिएर मात्रै कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
केन्द्रीय बंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको कर्जामा तोकिएको अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन । तर परिवर्तनशील ब्याजदरमा भने बैंकको आधार दर (बेस रेट) मा आएको परिवर्तनअनुसार ब्याजदर घटबढ हुन सक्छ । यस्तै बैंक तथा वित्तीय संस्थाले परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा आधार दरमा प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने र यस्तो प्रिमियम ग्राहक वा कर्जाको जोखिम मूल्यांकनका आधारमा तय गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा स्वीकृत भएपछि पछि गएर सो दर मनपरी रूपमा बढाउन वा छुट दिएर पुनः स्वतः वृद्धि हुने योजना लागू गर्न नपाइने स्पष्ट पारेको छ । परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले कर्जा प्रस्तावपत्र लिंदा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिनुपर्ने राष्ट्र बैंकको सुझाव छ ।



