काठमाडौं ।भन्सार विभागले देशभरका भन्सार कार्यालयहरुलाई सर्कुलर पठाउँदै बिहीबारसम्म दर्ता हुन आएका प्रज्ञापनपत्र आजै जाँचपास गरिसक्न भनेको छ।
जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने र त्यसका करका दरहरु फेरबदल हुन सक्ने भएकाले आजसम्मका सबै प्रज्ञापनपत्र जाँच पास गर्न भनेको हो।
विभागले भन्सार कार्यालयहरुका लागि जारी गरेको सर्कुलरमा भनिएको छ, ‘मिति २०८३/०२/१४ सम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गर्नु गराउनु हुन र प्रज्ञापनपत्र बाँकी रहेको खण्डमा आर्थिक विधेयक, २०८३ मा दररेट परिवर्तन भएमा सोहीअनुरुप जाँचपास गर्ने व्यवस्था गर्नु हुन।’
जेठ १५ मा सबै भन्सार कार्यालय बन्द हुने विभागले बताएको छ।
‘अर्थमन्त्रीबाट मिति २०८३/०२/१५ मा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन,’ सर्कुलरमा भनिएको छ।
जेठ १६ गतेबाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको एकीन गरेर मात्र जाँचपास गर्न पनि विभागले भनेको छ।
जेठ १४ वा सो भन्दा अगाडी मूल प्रज्ञापनपत्रबाट घोषणा गरेका तर जाँचपास हुन बाँकी वस्तुको हकमा महसुल दर परिवर्तन भएमा परिवर्तित दरअनुसार छुट हुने महसुल असुली गरेर मात्र पटके प्रज्ञापनपत्र बाट वस्तु जाँचपास गर्न विभागले भनेको छ।


