CLI

युक्रेन–रुस युद्धमा रोबोटको बढ्दो प्रयोग, युद्धको स्वरुप नै फेरिँदै

काठमाडौं । युक्रेन र रुसबीच चार वर्षदेखि जारी युद्धमा अब प्रविधि सबैभन्दा शक्तिशाली हतियारका रुपमा देखिन थालेको छ । विशेषगरी युक्रेनले युद्धभूमिमा रोबोट, ड्रोन तथा मानवरहित सवारी साधनहरुको प्रयोग तीव्र रुपमा बढाएपछि युद्धको स्वरुप नै परिवर्तन हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

युक्रेनी सेनाले हाल मानवरहित भूरोबोट, आक्रमणकारी ड्रोन तथा टाढाबाट नियन्त्रण गरिने युद्ध प्रणालीहरुको प्रयोग गर्दै सैनिकहरुलाई प्रत्यक्ष भिडन्तबाट जोगाउने रणनीति अपनाइरहेको सीएनएनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही समयअघि पहिलोपटक कुनै रुसी सैन्य चौकी पूर्ण रुपमा रोबोट र ड्रोनको सहायताले कब्जा गरिएको दाबी गरेका थिए।

पूर्वी युक्रेनका विभिन्न मोर्चाहरुमा अहिले भूमिगत नियन्त्रण कक्षबाट युद्ध सञ्चालन भइरहेको बताइएको छ । सैनिकहरु प्रत्यक्ष रुपमा युद्धस्थलमा उपस्थित नभई कम्प्युटर स्क्रिनमार्फत रोबोट र ड्रोन नियन्त्रण गरिरहेका छन्। विस्फोटक पदार्थ बोकेका युक्रेनी सेनाको ‘तेस्रो आक्रमण ब्रिगेड’ अन्तर्गतको एक विशेष इकाइले १६४ वटा रोबोटिक आक्रमणमार्फत करिब २,३०० सैनिकले गर्ने काम सम्पन्न गरेको दाबी गरेको छ।

यदि परम्परागत सैनिक आक्रमण गरिएको भए ठूलो संख्यामा सैनिक हताहत हुन सक्ने अनुमान गरिएको थियो ।

युद्धमा जनशक्तिको अभाव झेलिरहेको युक्रेनका लागि प्रविधि ठूलो सहारा बनेको विश्लेषकहरुको भनाइ छ। अहिले रोबोटहरुले केवल आक्रमण मात्र होइन, गोला–बारुद ढुवानी, खाद्यान्न तथा पानी आपूर्ति, घाइते सैनिकको उद्धार तथा निगरानीको कामसमेत गरिरहेका छन्।

युक्रेनले कृत्रिम बुद्धिमत्ता प्रविधियुक्त ड्रोनहरु पनि प्रयोग गरिरहेको छ, जसले शत्रुको विद्युतीय अवरोधलाई छल्दै लक्ष्यमा आक्रमण गर्न सक्छन् । यी प्रविधिहरुका कारण रुसी सेनाको आपूर्ति प्रणाली र सैन्य गतिविधिमा समेत असर परेको बताइएको छ।

यद्यपि युद्धमा प्रविधिको प्रयोग बढे पनि मानवीय पीडा भने कम भएको छैन। अग्रपंक्तिमा रहेका धेरै सैनिकहरु महिनौंसम्म विश्राम बिना युद्धक्षेत्रमा बस्न बाध्य भएका छन्। लगातार ड्रोन आक्रमण, मानसिक तनाव र शारीरिक थकानले सैनिकहरुको अवस्था कठिन बन्दै गएको विवरण सार्वजनिक भएका छन्।

सैन्य विश्लेषकहरुका अनुसार युक्रेन–रुस युद्धले आधुनिक युद्धको नयाँ युगको सुरुवात गरेको छ, जहाँ ट्यांक र पैदल सैनिकभन्दा बढी प्रभावकारी शक्ति रोबोट, ड्रोन र स्वचालित युद्ध प्रणाली बन्न थालेका छन्। आगामी दिनमा विश्वका अन्य देशहरुले पनि यही प्रविधिमा आधारित सैन्य रणनीति अपनाउने सम्भावना बढेको उनीहरुको भनाइ छ ।

Leave Your Comment

Related News