काठमाडौं । नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति अत्यधिक मात्रामा बढे पनि त्यसबाट प्राप्त प्रतिफल न्यून रहेको भन्दै त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नयाँ नीति अघि सारिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै यस्तो अवस्था सुधार गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्ने तयारी भइरहेको बताएका हुन्।
उनका अनुसार हाल नेपालसँग १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको छ, जबकि सामान्यतया ७ महिनासम्मको आयात धान्न पर्याप्त मानिन्छ। तर, उक्त सञ्चितिको प्रतिफल करिब ४ प्रतिशत हाराहारीमा सीमित रहेको उनले बताए । गभर्नर पौडेलले यस्तो ठूलो रकम निष्क्रिय राख्नुभन्दा दीर्घकालीन आर्थिक विकास, पूर्वाधार र उत्पादनशील लगानीमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै सोभरेन वेल्थ फन्डलाई त्यसैको माध्यमका रूपमा अघि सारिएको स्पष्ट पारे।


