CLI

विदेशबाट फर्किने यात्रुलाई मोबाइल, ल्यापटप लगायतका सामग्रीमा भन्सार छुट

काठमाडौं । नेपाल सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई नयाँ भन्सार व्यवस्था लागू गरेको छ। सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ भन्सार व्यवस्था लागू गरेको हो ।

अर्थ मन्त्रालयले भन्सार ऐन, २०८२ र भन्सार महसुल ऐन, २०८१ को अधिकार प्रयोग गरी २०८३ साल जेठ १५ गतेदेखि लागू हुने गरी नेपाल राजपत्रमा यो सूचना प्रकाशित गरेको हो। यस व्यवस्था अनुसार विदेशबाट फर्कने यात्रुहरुले ल्याउने विभिन्न व्यक्तिगत र घरायसी सामानहरुमा भन्सार महसुल पूर्ण वा आंशिक छुट दिने स्पष्ट नीति तय गरिएको छ।

उक्त व्यवस्था अनुसार  नेपालमा स्थायी बसोबास गर्ने नागरिक विदेशबाट फर्कँदा आफैँले प्रयोग गरेको लुगाफाटा, ओछ्यान, पुराना घरायसी सामान, औषधि र अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहाराका वस्तुहरुमा पूर्ण भन्सार छुट दिइनेछ। यसका साथै व्यक्तिगत प्रयोगका लागि ल्याइने ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन १-१ थानसम्म ल्याउँदा कुनै महसुल लाग्ने छैन। थप सुविधाको रुपमा १ लिटरसम्मको मदिराको बोतल र ७ किलोग्रामसम्मको खाद्य परिकारमा पनि भन्सार छुटको व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारमा गएका श्रमजीवीहरुका लागि सरकारले विशेष सहुलियत दिएको छ। जसअनुसार श्रम स्वीकृति लिएर लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपालीले आफ्नो साथमा थप १ थान नयाँ मोबाइल फोन ल्याएमा र कम्तीमा १२ महिना काम गरी फर्केका कामदारले ६५ इञ्चसम्मको टेलिभिजन १ थान ल्याएमा त्यसमा लाग्ने भन्सार महसुल पूरै छुट हुनेछ।

तोकिएको परिमाणभन्दा बढी सामान ल्याउन चाहने यात्रुहरुका लागि प्रचलित कानून बमोजिम महसुल तिरेर थप सामान ल्याउने व्यवस्था गरिएको छ। यात्रुहरुले नियमानुसार महसुल तिरेर टिभी, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पङ्खा, रेडियो, घडी र मोबाइल १-१ थान थप ल्याउन सक्नेछन्। त्यस्तै, लुगाफाटा, जुत्ता र कस्मेटिक्स बढीमा ५-५ थान तथा मिक्सर, जुसर, सिलाई मेसिन जस्ता घरायसी विद्युतीय उपकरण बढीमा २-२ थानसम्म महसुल तिरेर ल्याउन पाउनेछन्।

विदेशमा लामो समय बसेर फर्किने नेपालीका लागि थप राहत दिइएको छ। ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय विदेश बसेर फर्किनेले १५ हजार रुपैयाँसम्म मूल्यका वस्तुमा भन्सार छुट पाउनेछन्। एक वर्षभन्दा बढी बसेर फर्किनेले २५ हजार रुपैयाँसम्मका वस्तुमा पूर्ण छुट पाउने व्यवस्था गरिएको छ। १६ वर्षभन्दा कम उमेरका यात्रुले भने उक्त सीमाको ५० प्रतिशत मात्र सुविधा पाउनेछन्। नगद र विदेशी मुद्राको हकमा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५,००० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा साथमा ल्याउन पाउनेछन्। सोभन्दा बढी रकम भएमा अनिवार्य रुपमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने नियम बनाइएको छ।

यो नियम मुख्यतः हवाई मार्गबाट आउने यात्रुहरुका लागि लक्षित गरिएको हुनाले स्थलमार्ग वा सिमानाबाट ओहोरदोहोर गर्ने व्यक्तिहरुले यी भन्सार छुटका सुविधाहरु पाउने छैनन्। तर, स्थलमार्गमा ५०० रुपैयाँसम्मको निजी सामान भन्सार प्रमुखको औचित्यपूर्ण निर्णयमा छाड्न सकिने र भारतमा पढ्ने नेपाली विद्यार्थीले आफ्नो साथमा १ थान ल्यापटप वा कम्प्युटर ल्याउँदा महसुल नलाग्ने विशेष व्यवस्था छ।

अर्कोतर्फ, उडानमा रहेका विमानका चालक दलका सदस्य (क्रु मेम्बर) लाई आफ्नो निजी प्रयोगका सामान बाहेक अन्य कुनै पनि सामान ल्याउन पूर्ण प्रतिबन्ध लगाइएको छ। सरकारले स्पष्ट पार्दै यदि कुनै यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाई छिपाई ल्याउने प्रयास गरेमा वा नियम विपरीत सामान ओसारपसार गरेमा त्यस्ता वस्तुहरु जफत गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिने राजपत्रमा उल्लेख गरेको छ।

 

 

Leave Your Comment

Related News