काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले न्याय प्राप्त हुने पूर्ण आशा र अटल विश्वासका साथ आफू मातृभूमि फर्किएको बताएका छन्। अमेरिकामा रहँदै आएका कट्टेल स्वदेश फर्किएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्याय प्राप्त हुने पूर्ण आशा र अटल विश्वासका साथ मातृभूमि फर्किएको बताएका हुन्।
उनले आफ्नै देशको माटोमा रहेर न्यायको अनुभूति गर्न पाउने अपेक्षा व्यक्त गरेका छन्। साथै परिवार, आफन्त र समाजसँग सुख–दुःख साट्दै विगतका पीडा र जीवनका घाउहरू निको पार्ने अवसर प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा कट्टेलले लेखेका छन्– ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’
उनले थप लेखेका छन्– ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’


