काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसदीय समितिहरूमा हुने छलफल तथ्य र तथ्याङ्कमा आधारित हुनुपर्ने बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले फेसबुकका स्टाटस वा हचुवाका आधारमा निर्णय गर्न नहुने धारणा राखे।
सांसद झाले कुनै विषयमा सम्बन्धित निकायको जवाफ नै नसुनी हतारमा छानबिन समिति गठन गर्ने प्रवृत्तिले संसदीय बैठकको औचित्यमाथि प्रश्न उठ्ने बताए। बजेट निर्माण वा अन्य विषयमा प्रश्न उठ्नेबित्तिकै सम्बन्धित मन्त्री वा निकायलाई स्पष्टीकरण दिने अवसर दिनुपर्ने उनको भनाइ थियो।
“जसलाई प्रश्न उठाइएको छ, उसलाई जवाफ दिने मौका नै नदिई छानबिन समिति बनाइहाल्ने हो भने यो बैठक किन चाहियो? सिधै मागपत्र पठाइदिए भइहाल्यो नि,” उनले भने।
झाले रसुवा नाकाबाट आयात भएका ३० वटा सवारीसाधनको भन्सार मूल्याङ्कनमा वृद्धि भएको उल्लेख गर्दै त्यसबाट राज्यलाई फाइदा भए पनि व्यवसायीलाई घाटा परेको बताए। यस्तै, कोरोला नाकाबाट भित्रिएका सवारीसाधनको हकमा पनि भन्सार दर बढाइएको दाबी गरे।
उनले कुनै पनि विषयमा निष्कर्षमा पुग्नुअघि आधिकारिक तथ्याङ्क र प्रमाणका आधारमा छलफल गर्नुपर्नेमा जोड दिए। “हामी फेसबुकको स्टाटसको भरमा मुद्दा उठाउँदै छौँ कि हामीसँग तथ्याङ्क छ? कसैले फेसबुकमा लेखिदिएको भरमा छानबिन समिति बनाउने होइन, सम्बन्धित निकायबाट आधिकारिक डाटा मागौँ र त्यसमा बहस गरौँ,” उनले भने।
भन्सार प्रशासनमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै सांसद झाले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू पनि उठाएका थिए। उनले एक व्यवसायीको उदाहरण दिँदै आफ्नै एउटा पसलबाट अर्को पसलमा रकम लैजाँदा प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको र आवश्यक प्रमाण पेस गर्दा पनि सुनुवाइ नभएको बताए। त्यसका कारण ती व्यवसायीले बैंकको ब्याज तिर्न खेतसमेत बेच्नुपरेको उनको भनाइ थियो।
सांसद झाले भन्सार कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका सवारीसाधन तथा अन्य सामग्रीका कारण ती क्षेत्र कबाडीखाना जस्तै बनेको भन्दै त्यस्तो अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भन्सार व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउन आवश्यक सुधारका कदम चाल्न आग्रह गरे।


