CLI

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा

काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ । इरानले विशेष गरी कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

यसअघि, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानाहरूमा ‘आत्मरक्षाका लागि’ भन्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिँदै भनेका थिए, “आफ्नो हितमा हुने सम्झौताका लागि इरानले धेरै समय गुमायो, अब उसले यसको मूल्य चुकाउनुपर्नेछ ।”

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमानले इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बास, केशम टापु, दक्षिणी सहर सिरिक र मिनाब तथा राजधानी तेहरानको पश्चिमतर्फ रहेको कारज सहरका विभिन्न स्थानमा बमबारी गरेका छन् ।

तनाव तीव्र बनेसँगै इरानको मेहर समाचार एजेन्सीले जनाए अनुसार इरानी सेनाले विश्वकै व्यस्त व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ लाई पूर्ण रूपमा बन्द गर्न आदेश दिएको छ । अब यो मार्ग भएर कुनै पनि तेल ट्याङ्कर तथा व्यावसायिक जहाज आवतजावत गर्न पाउने छैनन् । इरानको यो कदमले विश्वव्यापी इन्धन आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

Leave Your Comment

Related News