काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५४ अर्ब ७२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४९ प्रतिशत अर्थात् ६ अर्ब ९२ करोड ६० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा यी संस्थाहरूले ४७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका थिए।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको नाफा ४७ अर्ब ९७ करोड ३० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.३७ प्रतिशत अर्थात् १७ करोड ८० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
विकास बैंकहरूले चालु आर्थिक वर्षको १० महिनामा ५ अर्ब ९२ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन्। जुन गत आवको तुलनामा ३३.८४ प्रतिशत अर्थात् १ अर्ब ४९ करोड ६० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले ४ अर्ब ४२ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए।
त्यस्तै, वित्त कम्पनी (फाइनान्स कम्पनी) हरूको नाफामा पनि ३७.५७ प्रतिशतको उच्च वृद्धि देखिएको छ। गत आर्थिक वर्षको १० महिनामा ६० करोड रुपैयाँ नाफा कमाएका वित्त कम्पनीहरूले चालु आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।


