काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले करका दर हेरफेर गरिएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदमा आर्थिक विधेयक र राजस्व तथा व्ययको अनुमान प्रस्तुत भइसकेपछि करका दर परिवर्तन गरिएको भन्दै त्यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
उनले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने मागसमेत गरे।
दंगालले भने, “संसदमा राजस्व र व्ययको अनुमान तथा आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको तत्काल छानबिन हुनुपर्छ र दोषीमाथि कडा कारबाही गरिनुपर्छ। यत्रो घटना नेतृत्वको संलग्नताबेगर सम्भव छैन। त्यसैले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र संसदीय छानबिन समिति गठन गरिनुपर्छ।”
उनले सरकारले ल्याएको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्यअनुसार नआएको टिप्पणी गर्दै बजेटले आम नागरिकको अपेक्षा पूरा गर्न नसक्ने दाबी गरे।
दंगालले बजेटमा समावेश केही सकारात्मक व्यवस्था भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा आफूलाई शंका रहेको बताए। उनले सरकारको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाउँदै बजेटका घोषणा व्यवहारमा रूपान्तरण गर्न चुनौतीपूर्ण हुने उल्लेख गरे।


