काठमाडौं । आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन्। सातमध्ये ६ प्रदेशले हिजो बजेट सार्वजनिक गरेका थिए भने सुदूरपश्चिम प्रदेशले सोमबार मध्यरातमा बजेट प्रस्तुत गरेसँगै सातै प्रदेशको बजेट सार्वजनिक भएको हो।
सातवटा प्रदेशको कुल बजेट करिब २ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। यो बजेट देशको आगामी कुल बजेटको १३.७ प्रतिशत बराबर हो। आगामी आर्थिक वर्षका लागि मुलुकको कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।
सात प्रदेशमध्ये सबैभन्दा बढी बजेट बागमती प्रदेशको रहेको छ भने सबैभन्दा थोरै गण्डकी प्रदेशको रहेको छ।
बागमती प्रदेश
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट ल्याएको छ। छ। विनियोजित बजेटमध्ये चालूतर्फ २२ अर्ब ९६ करोड १० लाख ३० हजार रुपैयाँ अर्थात बजेटको ३४.३१ प्रतिशत छुट्याइएको छ। पुँजीगततर्फ कुल बजेटको ३५.६९ प्रतिशत अर्थात् ४६ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ।
मधेश प्रदेश
बागमतीपछि बजेटको आकारमा मधेश प्रदेशको धेरै रहेको छ। मधेस प्रदेशले ४१ अर्ब १३ करोड ८६ लाख बजेट ल्याएको छ । प्रस्तुत बजेटमा चालूतर्फ १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ अर्थात ६४.३६ प्रतिशत रकम विनियोजन गरिएको छ। बजेटमा कर्मचारीको तलब १० प्रतिशत बढाउने, १० प्रतिशत प्रोत्साहन भत्ता दिने तथा आगामी वर्ष १५ प्रतिशत कर्मचारी कटौती गर्ने कार्यक्रम समेटिएको छ।
कोसी प्रदेश
कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ। त्यसैगरी वित्तीय समानीकरण अनुदानका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सुदूरपश्चिम प्रदेश
सत्तारुढ दल एमालेकै असन्तुष्टिका कारण प्रदेशसभा बैठक मध्यरातसम्म धकेलिएपछि सुदूरपश्चिम प्रदेशले मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशले आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ भने संघीय अनुदान र राजस्व बाँडफाँडलाई प्रमुख स्रोत बनाएको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले चालूतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले मदिरा र सुर्तीबाहेकका उद्योग स्थापना तथा नवीकरणमा लाग्ने शुल्क पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ। चालू आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए। आगामी वर्षका लागि चालूतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ बजेटको २४.३१ प्रतिशत, पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजित बजेटमध्ये चालूतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ । पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात ६०.६८ प्रतिशत छुट्याइएको छ।


