CLI

एक-एक घण्टाको बजार उतारचढाव हेरेर सरकारले नीति बनाउँदैन: डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयर बजारको क्षणिक उतारचढावलाई भन्दा दीर्घकालीन नीतिगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकार एक–एक घण्टाको बजार सूचक हेरेर नभई समग्र पूँजी बजारलाई पारदर्शी र स्थिर बनाउने योजनाका साथ अघि बढेको स्पष्ट पारे।

“सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति बनाउँदैन,” सम्बोधनका क्रममा उनले भने, “हामी दीर्घकालीन रूपमा बजारलाई पारदर्शी, बलियो र स्थिर बनाउन काम गरिरहेका छौँ।”

अर्थमन्त्री वाग्लेले मुलुकको कर प्रणालीमा सुधारको प्रक्रिया सुरु भइसकेको दाबी गरे। उनले व्यक्तिगत आयकरको दरमा परिमार्जन गरिएको, शिक्षा र विद्युत् क्षेत्रमा लक्षित कर नीति ल्याइएको तथा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिकीकरण गर्ने योजना रहेको संसद्लाई जानकारी दिए।

विद्युत् क्षेत्रमा कर लगाउने सरकारको निर्णयको बचाउ गर्दै उनले दशकौँसम्म दिइएको कर छुटपछि अब यो क्षेत्र आत्मनिर्भरतातर्फ बढेकाले कर प्रणालीमा आउनुपर्ने आवश्यकता औँल्याए। यसका साथै विद्युत् क्षेत्रमा कर लगाउँदा उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी मूल्य समायोजन गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए।

Leave Your Comment

Related News