काठमाडौं । नेपाल इकोनोमिक फोरम (NEF) ले “गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ” विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै गिग अर्थतन्त्रले नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने निष्कर्ष निकालेको छ।
कार्यक्रममा नीति निर्माता, अर्थविद्, व्यवसायी तथा विकास क्षेत्रका प्रतिनिधिहरूले राइड–हेलिङ सेवाको विस्तारले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला उद्यम (SMEs) तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिइरहेको धारणा राखेका थिए। सहभागीहरूले गिग अर्थतन्त्र विशेषगरी युवाका लागि आम्दानीको नयाँ अवसर बन्दै गएको बताएका थिए।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा तथा प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए।
नेपाल इकोनोमिक फोरमका कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड–हेलिङ सेवा यातायातमा मात्र सीमित नभई पर्यटन, साना व्यवसायको विकास र समग्र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे।
दराज नेपालका अध्यक्ष राजेश मास्केले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण आवश्यक रहेको बताए।
कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहालले डिजिटल व्यवसायको विस्तार, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको समापन गर्दै नेपाल इकोनोमिक फोरमका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै नीति संवाद र अनुसन्धानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


