काठमाडौं । सामाजिक सञ्जालबाट जन्मिएको ‘ककरोच जनता पार्टी’ का संस्थापक अभिजीत दिपकेको नेतृत्वमा सयौँ युवाहरुले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै रातभर धर्ना दिएका छन्।
दिल्ली प्रहरीले प्रदर्शनको तोकिएको समय सकिएको भन्दै ठाउँ खाली गर्न चेतावनी दिए पनि आन्दोलनकारीहरुले हट्न अस्वीकार गरे। प्रदर्शनलाई दबाउन रातको समयमा आन्दोलन स्थलको बत्ती निभाइएको तथा पानी र शौचालय जस्ता आधारभूत सुविधाहरु बन्द गरिएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन्। यद्यपि, केही समयपछि यी सुविधाहरु पुनः सुचारु गरिएका थिए।
आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि जून २७ सम्म शिक्षा मन्त्रीले राजीनामा नदिए आफू भोक हड्तालमा बस्ने चेतावनी दिएका छन्। सीजेपी (CJP) ले प्रश्नपत्र चुहावट विवादका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र विवादित परीक्षा रद्द गर्नुपर्ने मुख्य माग राखेको छ। शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलनबाट पछि नहट्ने अडान युवाहरुको छ।
साथै, आइतबार नीटको पुनः परीक्षा सकिएपछि परीक्षार्थीहरुलाई पनि आन्दोलनमा सहभागी हुन अपिल गरे।
उनले भने, “हामी यहाँ डटिरहेका छौँ, तर तपाईँहरुको समर्थन बिना यो आन्दोलन सफल हुन सक्दैन। परीक्षा दिने सबै साथीहरुलाई शुभकामना। परीक्षा सकिएपछि जन्तर मन्तरमा हामीलाई भेट्न आउनुहोला।”
शनिबार दिपकेको आह्वानमा सयौँ युवाहरु”थाली र चम्चा” बोकेर जन्तर मन्तर पुगेका थिए। प्रदर्शनकारीहरुले प्रतिवादको प्रतीक स्वरुप थाल र चम्चा ठटाएर विरोध जनाएका थिए। आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि यदि जून २७ सम्म प्रधानले राजीनामा नदिए आफू भोक हड्तालमा बस्ने चेतावनी दिएका छन्।


