काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २६ खर्ब ७७ अर्ब पुगेको छ ।
शोधानान्तर स्थिति ८ खर्ब ६३ अर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढेको छ । तर अधिकांश आन्तरिक सूचक भने सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा आत्मविश्वास छैन ।
नयाँ कर्जाको माग नहुनु र बैंकिङ प्रणालीमा रकम थुप्रिनु अर्थतन्त्रको लागि प्रत्युउत्पादक होइन । कोरोना महामारीबाट ओरोलो लागेको नेपाली अर्थतन्त्र जेनजी आन्दोलन पछि झनै आरोलो लागेको देखिन्छ । यो सँगै निजी क्षेत्रमार्फत् अर्थतन्त्र चलयामान बनाउनु पर्नेमा सरकार त्यसतर्फ लागेको देखिदैन । हालको आशा भरोसा भनेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन र त्यस पछिको परिणमामार्फत् सरकारले निजी क्षेत्रका लागि तय गर्ने दिशानिर्देशले भर पर्ने निजी क्षेत्रको बोली रहेको छ ।
विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाहमा वृद्धिदर देखिनु जस्ता कारणले निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झन् झन् बढदै गएको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १० खर्ब १२ अर्ब , भदौमा १० खर्ब ४६ अर्ब र असोजमा ११ खर्ब ६१ अर्ब ऋण दिन मिल्ने रकम थियो । माघ दोस्रो सातासम्म आइपुग्दा १२ खर्ब ४ अर्ब ऋण दिन मिल्ने रकम भएको छ ।
गत आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब ऋण दिन मिल्ने रकम रहेकोमा असार महिनामा मात्र बढेर साढे १० खर्ब पुगेको थियो । त्यसपछिको समयमा ऋण दिन मिल्ने रकम थपिने क्रम निरन्तरता पाएको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा अनुपात ७२.८८ प्रतिशत छ । त्यस्तो अनुुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा प्रवाह गर्न पाइन्छ । अर्थात् बैंकहरुले अझै निक्षेपको १७.१२ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउने छ । अहिले बैंकहरुमा रहेको ७६ खर्ब ७२ अर्ब निक्षेपको आधारमा १३ खर्ब ७७ अर्ब ऋण दिन मिल्ने रकम रहेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७२ खर्ब ६१ अर्ब र विकास बैंक र फाइनान्सहरुको निक्षेप सात खर्ब ८६ अर्ब रहेको छ । समीक्षा अवधिमा बैंकहरुले ५९ खर्ब १९ अर्ब ऋण प्रवाह गरेको छ ।
रेमिट्यान्स उच्च दरले बढिरहेको तर कर्जा प्रवाह बढ्न नसकेकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएको अर्थविद्हरु बताउछन् । आयातमा वृद्धि भए पनि कर्जा माग हुने अनुरुप बढ्न सकेको छैन भने मासिक रुपमा १ खर्ब भन्दा बढीको आयात भएको छ । जबि कि मासिक रुपमा सवा खर्ब बढी रेमिटेन्स भित्रिएको छ ।
ब्याजदर न्यून रहँदा पनि तरलता बढिरहेको र ब्याजदर थप घटाएर पनि कर्जा प्रवाह हुने अवस्था नभएकाले अर्थतन्त्र तरलतामा रहेको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् ।
हाल अधिक तरलताको मार सबैभन्दा बढी निक्षेपकर्तालाई परेको छ । ब्याजदर बढी हुँदा महँगो ब्याज तिर्नुपर्ने भएकाले ऋणी मारमा हुन्थे । अहिले अधिक तरलता भएकाले निक्षेपकर्ता मारमा परेको बैंंकहरु बताउछन् । तरलता व्यवस्थापनका लागि सरकारले आफै काम गर्ने र निजी क्षेत्रलाई साथमा लिएर हिड्नुको विकल्प नरहेको वित्तीय क्षेत्रका जानकारहरुको भनाई छ ।


